NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

नेपालमा सुर्तिजन्य पदार्थको सेवन बढ्दो, सबैभन्दा धेरै प्रयोगकर्ता कर्णालीमा

काठमाडौं । नेपालमा सुर्तिजन्य पदार्थको उपभोग दिनप्रतिदिन बढ्दै गएको पाइएको छ ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको सर्वेक्षणले नेपालमा सुर्तिजन्य सेवन गर्नेको संख्या बढ्दो क्रममा रहेको देखाएको हो । प्रतिष्ठानले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ ।

सर्वेक्षण अनुसार नेपालमा कुनै न कुनै प्रकारको सुर्तिजन्य पदार्थ सेवन गर्नेको संख्या ३४ प्रतिशत रहेको जनाइएको छ । जसमा पुरुष ५७ प्रतिशत र महिला ११ प्रतिशत रहेका छन् ।

वर्तमान समयमा युवा पनि सुर्तिजन्य पदार्थ आकर्षित हुँदै गएको उक्त सर्वेक्षणले देखाएको छ । अहिले युवाहरु हुक्का तथा विद्युतिय चुरोटमा बढी आकर्षित भएको सर्वेक्षणमा देखिन्छ । सो सर्वेक्षणमा ४७ प्रतिशत युवा हुक्का र ५८ प्रतिशत इ सिगरेट लिइरहेको देखाएको छ । जसमा १५ देखि २४ वर्ष उमेर समुह रहेका छन् । यसरी दिनदिनै युवामाझ विद्युतिय चुरोटको दर बढ्दै जानुमा युवाले यसलाई सुरक्षित रुपमा लिएको र आमा बाबुबाटै अनुमति दिने प्रचलन बढेकाले भएको जानकार बताउँछन् ।

त्यस्तै सर्वेक्षण प्रतिवेदनले पहाडी क्षेत्रमा सुर्तिजन्य पदाथको सेवन बढ्दो मात्रामा रहेको देखाएको छ । प्रदेश अनुसार हेर्ने हो भने कर्णालीमा सबैभन्दा बढी अर्थात ४७.८ प्रतिशतले कुनै न कुनै किसिमको सुर्तिजन्य पदार्थ लिइरहेका छन् । त्यसपछि क्रमस बागमति प्रदेशमा यो संख्या अन्य प्रदेशमा भन्दा न्युन रहेको छ । बागमतिमा २४ प्रतिशत मात्र कुनै न कुनै प्रकारको सुर्तिजन्य पदार्थ लिने भेटिएका छन् ।

सरकारले सुर्तिजन्य पदार्थको करको दर वृद्धि गरेमा सुर्तिजन्य पदार्थको सेवन घट्ने प्रतिष्ठानका अनुसन्धानकर्ता कमल चौलागाईले बताए । उनले विश्व स्वास्थ्य संगठनले सुर्तिजन्य पदार्थको खुद्रा मूल्यमा ७५ प्रतिशत कर लगाउनुपर्ने मापदण्ड तोकेपनि नेपालमा ४१ प्रतिशत मात्र कर लगाइएको कार्यक्रममा उल्लेख गरे । दक्षिण एशियाली राष्ट्रहरुमा सर्वाधिक बिक्रि हुने ब्राण्डको खुद्रा मुल्यमा लाग्ने कर दरको तुलनामा नेपालको कर दर सबैभन्दा न्युन रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले सो सर्वेक्षणका लागि प्रत्येक प्रदेशमा ३ जनासँग कुराकानी गरेको थियो । सुर्तिजन्य पदार्थका कारण नेपालमा प्रत्येक वर्ष ३७ हजार ५२५ जनाको मृत्यु हुने गरेको छ ।