NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

तुलसीमेहरको चर्खामा किचलो, मुख्य गुठियारलाई कानूनी कारबाही गर्ने चेतावनी

काठमाडौं । तुलसीमेयर श्रेष्ठलाई कपास खेतीका साथै चर्खा व्यवसायमा दलित, महिलालाई ल्याएर नेपालमा उद्यम सोच विजारोपण गरेको जस दिने गरिन्छ । उनैले स्थापना गरेको शताब्दी पुरानो नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठी अहिले पनि एउटा इतिहासको साक्षी बनेर घुमिरहेको छ ।

महिला, दलित, युवालाई सीप र उद्यम सिकाएर अनुकरणीय कार्य गरेका तुलसीमेयरले स्थापना गरेको ऐतिहासिक महागुठी अहिले आन्तरिक किचलोमा नराम्रोसँग फसेको छ ।

मुख्य गुठियार र तत्कालीन लेखा अधिकृतले लेखासँग सम्बन्धित कागजात, संस्थाको छाप, ऐतिहासिक सामग्री दिन आनाकानी गरेपछि यो ऐतिहासिक संस्थाभित्रको किचलो छताछुल्ल भएको हो ।

नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठी, केन्द्रीय कार्यालयका अनुसार, महागुठीका मुख्य गुठियार उर्मिला मर्म उपाध्याय र तत्कालीन लेखा अधिकृत सप्तराज शाक्यसँग सन्तुलित रिपोर्टसँग सम्बन्धित सक्कल बिल, भरपाई, भौचरसँगै रसिद, गुठीको छाप, यससँग सम्बन्धित ऐतिहासिक सामग्री छन् । ती सामग्री केन्द्रीय कार्यालयमा बुझाउन केन्द्रीय कार्यालयले पटक–पटक उनीहरूलाई अनुरोध गरे पनि मानेका छैनन् ।

उपाध्याय र शाक्यले आफूसँग भएका सरसामग्री र कागजात दिन आनाकानी गरेपछि महागुठीले १५ दिनभित्र लेखा प्रशासनमा यी वस्तु बुझाउन अन्तिम मौका दिएको छ । महागुठीले मंगलबार एक सार्वजनिक सूचना जारी गरेर यस्तो चेतावनी दिएको हो ।

महागुठीले १५ दिनभित्र कागजात केन्द्रीय कार्यालयमा बुझाउन अनुरोध गर्दै अन्यथा कानूनी कारबाही प्रक्रिया अघि बढ्ने स्पष्ट पारेको छ ।