NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १५ गते

नेपाल प्रहरीमा आइजिपीविरुद्ध आक्रोश

काठमाडौं । नेपाल प्रहरीका बहालवाला एसएसपीले प्रहरी नेतृत्वको आलोचना गरेका छन् । प्रहरी अस्पतालमा कार्यरत डा.दीपक श्रेष्ठले प्रहरी नेतृत्वले आफूलाई अन्यायपूर्वक अवकाश दिन लागेको भन्दै सामाजिक सञ्जालमार्फत आइजिपी बसन्तबहादुर कुँवरविरुद्ध आक्रोश व्यक्त गरेका हुन् ।
डिआइजीको दरबन्दी करिब ५० दिनदेखि रिक्त राखेर आफूलाई २३ वर्ष सेवा अवधिमै अवकाश दिन लागेपछि श्रेष्ठले आक्रोश व्यक्त गरेका हुन् ।

एसएसपी श्रेष्ठले बुधबार फेसबुकमा लेखेका छन्– खड्गजित बराल, दुर्लभ थापा, डि. वि. लामा, अच्युतकृष्ण खरेल, ध्रुव बहादुर प्रधान सरहरू जस्तो आदरणीय व्यक्तित्वहरूले हाँकेको गौरवमय इतिहास बोकेको संगठनमा २०५८ मा प्रवेश गरेर आज २०८१ मा वदनियतिपुर्वक अवकाश दिँदा मन लागेको कुरा गौरवमय नेपाल प्रहरी संगठन पछिल्लो समयबाट’ नेपाल प्रहरी प्राइभेट कम्पनी लिमिटेड’मा परिणत भई अब प्रहरी महानिरीक्षक होइन कि सिइओले नेतृत्व गर्ने भएछ ।’

प्रहरी अस्पतालमा डिआइजीका दुई पद रिक्त छन् । जसमा एसएसपी श्रेष्ठ र सुवास आचार्य बढुवाका दाबेदार हुन् । एक साताभित्र बढुवा सिफारिस नभए उनीहरूले एसएसपीको ६ वर्षे पदावधिका कारण अवकाश पाउन निश्चित छ । आफुहरुलाई अन्यायपूर्वक अवकाश दिन लागेपछि दुवै जना प्रहरी नेतृत्व र गृह नेतृत्वसँग रुष्ट छन् ।
श्रेष्ठ र आचार्यलाई अवकाशमा लगेर जुनियरलाई बढुवा गर्ने प्रहरी नेतृत्वको योजना छ । सोही कारण पछिल्लो समय प्रहरी नेतृत्व विवादमा परेको छ ।

यसअघिका बढुवामा पनि सिनियरलाई उपेक्षा गरेको भन्दै आइजिपीको आलोचना भएको थियो ।