कांग्रेसको पदाधिकारी बैठक बूढानीलकण्ठमा जारी

काठमाडौं – सत्ता साझेदार नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवासमा जारी छ । सोमबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक सुरु भएको हो ।
बैठकमा पार्टीका पछिल्ला गतिविधि, राजनीतिक समसामयिक गतिविधि, आगामी आर्थिक वर्षको बजेटबारे छलफल हुनेछ । साथै गृहमन्त्री रमेश लेखकबारे पनि छलफल केन्द्रित हुने बताइएको छ । बैठकमा गृहमन्त्री लेखकसँगै प्रमुख सचेतक श्याम घिमिरे पनि उपस्थित छन् ।
आजको बैठकले गृहमन्त्री लेखकबारे आधिकारिक धारणा बनाउने बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग गरी दैनिक घुस लिने गरेको गृहमन्त्री लेखकलाई आरोप लागेको छ । उनले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने माग भइरहेको छ । कांग्रेसका केही नेताहरूले पनि लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।
यता गृहमन्त्री लेखकले भने आफूले कहिल्यै आर्थिक अनियमितता गरेको प्रमाणित गर्न सके राजनीतिबाटै राजीनामा दिने बताउँदै आएका छन् । साथै जेठ १३ गते बस्ने प्रतिनिधि सभाको बैठकमा आफूले उक्त घटनाक्रमबारे जानकारी गराउनका लागि समय लिइसकेको बताएका छन् । खासगरी कांग्रेस अहिले पार्टीका तर्फबाट गृहमन्त्री रहेका लेखकलाई लागेको भिजिट भिसा प्रकरणको आरोपका कारण सकसमा छ ।
भिजिट भिसाका नाममा विदेशमा मानव तस्करी गराउने र त्यसबाट ठूलो रकम लाभ लिने गिरोहलाई संरक्षण दिएको आरोप गृहमन्त्री लेखकलाई लागेको हो । उनले राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने दबाब कांग्रेसकै नेताहरूले दिइरहेका छन् । यो विषय आइतबार बसेको सरकार नेतृत्वकर्ता दल नेकपा एमालेको सचिवालय बैठकमा समेत उठेको छ । तर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले यस विषयमा गृहमन्त्रीकै दल कांग्रेसले निर्णय गर्नुपर्ने धारणा राखेका छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
-
सन् २०२५-२०२९ औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत : राष्ट्रसंघ
-
मोहम्मद अफताब आलम कारागारबाट छुटे
-
साउनयता चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले २८ गैँडा मरे
-
अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय
प्रतिक्रिया