NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

मुठभेडतर्फ नेकपा विवाद, अवतरणको खोजी

काठमाडौं । पार्टी एकताको पूर्वसन्ध्यामा तत्कालीन माओवादी केन्द्रको पोलिट्ब्यूरो सदस्यहरूको बैठक काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा चलिरहेको थियो । कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोलिट्ब्यूरो नेताहरूसँग भनेका थिए–एमाले र माओवादी मिलेर बनेको एकीकृत पार्टी एउटा ठूलो भट्टी हो । त्यस भट्टीमा हामी सबै जोखिम मोलेर हाम्फाल्ने हो । भट्टीबाट सकुशल निस्किनेजति स्पात बन्छन्, निस्किन नसक्ने त्यहीँ जलेर खरानी बन्छन् । पार्टी एकताको अढाइ वर्षपछि को स्पात बन्ने र को खरानी बन्ने भन्ने विष्फोटक क्षणमा सत्तारुढ नेकपा उभिएको छ । सचिवालय बैठकमा शनिबार प्रधानमन्त्री केपी ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको १९ पृष्ठको राजनीतिक प्रतिवेदनविरुद्ध दोब्बर अर्थात् ३८ पृष्ठ लामो जवाफ फर्काए । छताछुल्ल अवस्थामामात्र होइन, आगामी दिनमा नेकपा सग्लै रहन्छ कि रहन्न भन्ने संशय छाएको छ । पार्टीभित्रको विवाद मिलन भन्दा विच्छेदतर्फ केन्द्रीत भइरहेका बेला नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्रका समस्या बैठक नबसेका कारण निम्तिएको आरोप लगाएका छन् । ‘बैठक बस्दा दुवै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक बस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले पाइन्न भन्ने हो,’ गौतमले आइतवार निजी सचिवालयमार्फत् भनेका छन्, ‘पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरूका एकजना सदस्यमात्रले पनि औचित्य पुष्टि हुने गरी बैठक बस्न माग गरेमा महासचिवले अध्यक्षसँंग परामर्श गरी बैठक बोलाउनुपर्छ ।’ पार्टी व्यवस्थापनका मामुली विषयमा पनि विवेक पुर्याउन नसक्नेलाई के भन्नु भन्दै उनले पार्टी नेतृत्वमाथि प्रश्न उठाएका छनु । दूर बन्दै सहमति विन्दु, बहुमत र अल्पमतको झमेला यसअघि पार्टीभित्र निम्तिएका विवाद र संकटबारे नौ सदस्यीय सचिवालयमै छलफल र सहमतिको प्रयास गरिन्थ्यो । सानो संख्याका नेताहरूबीच सहमतिको प्रयास पनि सहज हुन्थ्यो । अब भने यो विवाद स्याथी र केन्द्रीय समितिको बृहत पटांगिनीमा प्रवेश गर्ने भएको छ । आगामी १६ मंसिरमा दुवै अध्यक्षको राजनीतिक प्रस्तावमाथिको छलफल पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हुने छ । गौतमले बैठकमा दुवै अध्यक्षले आफूलाई लागेको कुरा खुला–खुलस्त, बिना लप्पन–छप्पन, मौखिक–लिखित रुपमा राखेका कारण अब पार्टीभित्रको विवादको निरुपण स्वस्थ बहसमार्फत पार्टी कमिटीबाटै खोजिने बताए । नेकपाभित्र दुवै अध्यक्षले आ–आफ्ना प्रस्ताव फिर्ता नलिए बहुमत र अल्पमतको आधारमा निरुपण खोज्नुपर्ने हुन्छ । तर, नेकपाभित्र प्रधानमन्त्री केपी ओली पक्षीय नेताहरू भने बहुमत र अल्पमतमा जान नमिल्ने बताएका छन् । शनिबार प्रधानमन्त्रीले संक्रमणकालीन अवस्थामा रहेको कमिटीले बहुमत र अल्पमतका आधारमा गर्ने निर्णय मान्न नसकिने प्रस्ताव मार्फत चेतावनी दिएका छन् । ओलीपक्षीय स्थायी समिति सदस्य सुवास नेम्बाङ सचिवालयमा रहेको प्रस्ताव सचिवालयले नै टुंगोमा पुर्याउने बताए । अर्कातिर प्रचण्ड–माधव नेपालपक्षीय नेताहरू भने बहुमतबाट भए पनि निर्णय गर्ने पक्षमा छन् ।दुवै अध्यक्ष आआफ्ना अडानबाट टसमस नभएको खण्डमा विवाद बहुमत र अल्पमतको खेलमा प्रवेश गर्ने नै छ । आगामी मंसिर १८ गते स्थायी समिति र २५ गते केन्द्रीय समिति बैठकको मिति पनि तय भएको छ । ‘नेकपा ब्रेक फेल भएको गाडी भयो’ नेकपा स्थायी समिति सदस्य हरिवोल गजुरेलले अध्यक्षद्वय ओली र प्रचण्डकै कारण पार्टी विभाजनको दिशामा पुगेको आरोप लगाएका छन् । उनले दुवै अध्यक्षले आत्मआलोचना गर्ने भन्दा पनि पार्टी विभाजन गर्न सहयोग पुग्ने गरी आरोप–प्रत्यारोपमा उत्रिएको पनि बताए । ‘दुवै अध्यक्ष पार्टी विभाजन गर्ने दिशामा अघि बढेको देखिन्छ,’ उनले भने, ‘अहिले नेकपाको अवस्था ब्रेक फेल भएको गाडी जस्तो छ, अब पार्टी जोगाउने जिम्मा भनेको चालकको रुपमा रहेका दुवै अध्यक्षको हो नत्र दुर्घटना हुने निश्चित जस्तै छ ।’ सचिवालय बैठकमा प्रतिवेदनमाथि छलफल भएपछि स्थायी समितिको बैठकमा पेस हुने गजुरेलले बताए । पार्टीभित्रको विवाद विभाजनसम्म पुग्ने कतिपयको आकलनबीच राजनीतिक विश्लेषक लोकराज बराल भने त्यस्तो सम्भावना देख्दैनन् । ‘प्रचण्डले प्रस्ताव फिर्ता नलिएसम्म बैठकमा आउँदै आउँदिन भनेका ओली अहिले बैठकमा उपस्थित भएर अर्को प्रतिवेदन ल्याए,’ उनी भन्छन्, ‘यसरी हेर्दा नेकपा विभाजन हुने सम्भावना निकै कम छ तर विवाद भने तत्काल साम्य हुने सम्भावना देखिँदैन ।’