बिरामी हेर्नुपर्ने सरकारी अस्पताल नै बिरामी

आठ डाक्टरको दरबन्दी भएको हुम्ला अस्पताल एकजना करारका डाक्टर र प्रशिक्षार्थीका भरमा सञ्चालित छ । प्रादेशिक अस्पताल जनकपुरमा ११ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ, तर एउटा पनि पदपूर्ति छैन । केन्द्रमा वीर र शिक्षण अस्पतालमा नै चिकित्सकको अभाव, ४० घन्टा ड्युटी तोकिएका डाक्टर ९६ घन्टासम्म सेवा दिनुपर्ने अवस्था छ । महामारीमा गत चैतमा वीर अस्पतालको अक्सिजन प्लान्ट बिग्रिएको थियो । ३५ लाखमा बन्ने प्लान्ट ९ महिनासम्म बन्न सकेन । सरकारले अस्पताल नभएका सबै स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका आधारभूत अस्पताल निर्माण गर्ने महत्वाकांक्षी योजना सुरु गरेको छ । तर, जिल्लादेखि केन्द्रसम्म भएका अस्पतालमा जनशक्ति पु¥याउने तथा भौतिक संरचना बनाउनेतर्फ भने ध्यान दिएको छैन । भैरहवास्थित भीम अस्पताल र जाजरकोट अस्पतालमा सरकारी दरबन्दीका एकजना डाक्टर पनि छैनन् । जब कि भीममा ११ जना र जाजरकोटमा ६ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ । त्यस्तै, आठ डाक्टरको दरबन्दी भएको जुम्ला अस्पताल एकजना करारका डाक्टर र प्रशिक्षार्थीका भरमा चलिरहेको छ । प्रदेशस्तरका अस्पतालमा ११ जना विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि एउटा पनि पदपूर्ति छैन । भैरहवास्थित भीम अस्पताल करारमा नियुक्त डाक्टरको भरमा चलिरहेको छ । विद्यार्थीलाई करारमा भर्ना गरेर विशेषज्ञ डाक्टरको आवश्यकता पूरा गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा। शकुन्तला गुप्ताले बताइन् । पछिल्लो समय लुम्बिनी प्रदेश सरकारले भीम अस्पताललाई कोभिड अस्पताल बनाएको थियो । त्यससँगै करारमा डाक्टर भर्ना गरेर अस्पताललाई व्यवस्थित गराउन थालिएको मेडिकल सुपरिटेन्डेन्ड डा। गुप्ताको बताइन् । अस्पतालमा उपलब्ध उपकरणअनुसार सबै परीक्षण हुने गरेको सूचना अधिकारी डा। नारायण पोख्रेलले बताए । ‘ल्याबमा स्थायी कर्मचारी नै छन्, अस्पतालमा परीक्षण गराउन आउने बिरामीहरूको सुरुको सबै परीक्षण गर्न सकिन्छ,’ उनले भने । त्यस्तै, सरकारले उपलब्ध गराएका ७३ वटै निःशुल्क औषधि अस्पतालले उपलब्ध गराएको सूचना अधिकारी पोख्रेलले बताए । जाजरकोट अस्पतालमा ६ जना विशेषज्ञ डाक्टरसहित ६३ स्वास्थ्यकर्मीको दरबन्दी छ । तर, एकजना डाक्टरको पनि पदपूर्ति गरिएको छैन । अस्पतालले एकजना एमडी डाक्टर नियुक्त गरेको छ । छात्रवृत्ति कोटामा पढेका तीन मेडिकल अधिकृत पनि कार्यरत छन् । सरकारी दरबन्दीमा १७ स्वास्थ्यकर्मी मात्र कार्यरत छन् । ५० शय्याको अस्पतालको भवन बनिरहेको छ । जनशक्तिको अभावमा एम्बुलेन्स सेवा, एक्स–रे सेवा बन्द छ । सात वर्षदेखि निमित्तको भरमा दोलखा जिल्ला अस्पताल प्रमुख नहुँदा जिल्ला अस्पताल दोलखा सात वर्षदेखि निमित्तकै भरमा सञ्चालन भइरहेको छ । दशौँ तहको मेडिकल सुपरिटेन्डेन्टको दरबन्दी रहेको जिल्ला अस्पताल जिरी नेतृत्वविहीन छ । प्रमुख नभएपछि अस्पतालबाट प्रवाह हुने विशेषज्ञ सेवा लामो समयदेखि प्रभावित छन् । ०७० मा नियमित सरुवा भएर गएका तत्कालीन मेडिकल सुपरिटेन्डेन्टपछि हालसम्म जिल्ला अस्पतालमा आठौँ तहका मेडिकल अधिकृतले निमित्तको रूपमा काम गर्दै आएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । अस्पतालका निमित्त प्रमुख डा। राकेश श्रेष्ठले अस्पतालमा २७ जना कर्मचारीको दरबन्दी भए पनि ११ जना मात्रै छन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका जिरी नगरपालिकाका मेयर टंक जिरेलले पटक–पटक मन्त्रालय र मातहतका कार्यालयलाई जनशक्ति पठाउन अनुरोध गरे पनि त्यसको सुनुवाइ नभएको बताए । प्राविधिक उपकरणहरू सञ्चालन गर्ने जनशक्तिसमेत अभाव छ । अस्पतालमा ल्याब टेक्नेसियन, रेडियोग्राफर, ल्याब असिस्टेन्टजस्ता जनशक्ति वर्षौँदेखि नहुँदा पनि मन्त्रालयले अहिलेसम्म पठाएको छैन । प्राविधिक जनशक्ति अभाव हुँदा भएका उपकरणहरूसमेत सञ्चालनमा नआएपछि सामान्य परीक्षण गर्नसमेत बिरामीहरूले मोटो रकम खर्चेर निजी अस्पताल जानुपर्ने बाध्यता छ । मापदण्डअनुसार प्रायः सबै उपकरण भए पनि जनशक्ति अभावकै कारण प्रयोगमा आउन सकेका छैनन् । ६ वटा वार्ड रहेको १५ शय्याको जिरी अस्पतालमा कर्मचारी अभावकै कारण तोकिएका सेवाहरू प्रवाह गर्न कठिनाइ भएको निमित्त प्रमुख डा। श्रेष्ठले जनाएका छन् । उनले सयौँपटक कर्मचारी पठाउन अनुरोध गरे पनि मन्त्रालयले कर्मचारी नपठाएको बताए । बिरामीलाई बेहोस गराउने एनेस्थेसिया असिस्टेन्टको दरबन्दी वर्षौँदेखि रिक्त छ । सरकारले ७० प्रकारका औषधि निःशुल्क वितरण गर्न भने पनि बिरामीहरूलाई सबै प्रकारका औषधि वितरण गर्न नसकेको अस्पताल स्रोतले जनाएको छ । दमौली अस्पतालमा जीवनजल अभाव, बिरामी मिनिरल वाटर किनेर शौचालय जानुपर्ने बाध्यता जिल्लाकै ठूलो दमौली अस्पतालमा जीवनजलको समेत अभाव छ । अस्पतालमा जीवनजल र सामान्य औषधिसमेत नहुँदा बिरामी मर्कामा परेका छन् । एक महिना अगाडिदेखि जीवनजलको अभाव भएको अस्पतालका प्रशासन अधिकृत गुरुदत्त घिमिरेले बताए । ‘पछिल्लो समय अस्पतालमा जीवनजल लिन आउने बिरामीको संख्यामा वृद्धि भएको छ । तर, अस्पतालमा एक पोका पनि जीवनजल छैन । गण्डकी प्रदेशको आपूर्ति कार्यालयले निःशुल्क पाउने औषधि उपलब्ध नगराउँदा जीवनजल अभाव भएको हो,’ उनले भने । राज्यले ७२ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने भए तापनि अस्पतालमा अहिले पन्ध्र प्रकारका मात्रै औषधि उपलब्ध छन् । अस्पतालमा जीवनजल, सुगर, प्रेसर तथा मानसिक औषधिको अभाव भएको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनील पौडेलले बताए । ‘अहिले अस्पतालमा औषधिको अभाव छ, तर हामीले औषधि मगाएका छौँ । अब एक हप्ताभित्र औषधि आउनेछ,’ उनले भने । अस्पतालमा पर्याप्त पानी नहुँदा समस्या भएको छ । उपचारका लागि आएका बिरामीले पिउने पानीसमेत पाएका छैनन् । बिरामी मिनिरल वाटर किनेर शौचालय जानुपर्ने बाध्यता छ । दैनिक ३० हजार लिटर पानी आवश्यक पर्ने भए पनि मुस्किलले पन्ध्र हजार लिटर मात्रै आपूर्ति हुने गरेको प्रशासन अधिकृत घिमिरेले बताए । १५ शय्याको दमौली अस्पतालमा ४२ वटा बेड सञ्चालनमा ल्याइएको छ । अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टसहित दुईजना मेडिकल अधिकृत रहेको प्रशासन अधिकृत घिमिरेले बताए । उनका अनुसार ल्याबको राम्रो व्यवस्था छ । पाँचजना प्राविधिक आवश्यक भए पनि दरबन्दी दुईवटा मात्रै छ । त्यसमा पनि एउटा प्राविधिक काजमा छन् । करार चिकित्सकले घानेको जिल्ला अस्पताल हुम्ला जिल्ला अस्पताल करार चिकित्सककै भरमा सञ्चालनमा छ । आठजना दरबन्दी रहेकोमा जिल्ला अस्पतालमा एकजना करार चिकित्सक र पाँचजना छात्रवृत्तिका चिकित्सक छन् । दुईजनाको पद रिक्त रहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका कार्यालय प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए । तीनजना स्टाफ नर्स पनि करारका छन् । एकजना गाउँपालिकाबाट करारमा स्टाफ नर्स खटाइएको छ । हालसम्म जिल्ला अस्पताल हुम्लामा एकजना पनि स्थायी चिकित्सक पुगेका छैनन् । स्थायी चिकित्सक एकजना पनि नखटाउँदा करार र छात्रवृत्तिका चिकित्सकले धान्दै आएका छन् । जिल्ला अस्पताल हुम्लामा थाइराइड, टिबी, स्टेडी, एक्स–रे ब्लड समूह छुट्याउने उपकरण राखिएका छन् । तर, स्थायी दरबन्दी नहुँदा पाँचजना करारकै कर्मचारीले चलाएका छन् । प्रादेशिक अस्पतालमै सुविधाको अभाव प्रादेशिक अस्पताल जनकपुरमा पनि दरबन्दीअनुसार कर्मचारी र उपकरणको अभाव छ । ११औँ तहका १० जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेकोमा अहिले एकजना पनि छैनन् । नवौँ–१०औँ तहका २५ जनाको दरबन्दी रहे पनि १७ जना, ११ जना मेडिकल अधिकृतमा ११ जना नै छन् । कोभिड कालमा नर्स भने दरबन्दीअनुसार छन् । २५ स्टाफ नर्सको दरबन्दी कोभिड कालमा पूरा भएको छ । अस्पताल विकास समितिमा सञ्चालन गरिएको सवा सय बेडका लागि एक सय ६२ जनाको दरबन्दी तोकिएको छ । तर, सरकारबाट एक सय ४० जना कर्मचारीको दरबन्दी तोकिएको छ । सरकारी दरबन्दीअनुसार सबै कर्मचारी अस्पतालमा कहिल्यै नआएको अस्पताल प्रमुख डा। नागेन्द्र यादवले बताए । नयाँ पत्रिकामा खबर छ ।
प्रतिक्रिया