NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

‘पञ्चेबाजा’ एपबाट विवाह गर्ने जोडी खोज्न सकिने

काठमाडौं । विवाहका लागि केटा वा केटी खोज्न धेरै हैरानी खेप्न नपर्ने भएको छ । हाफफूल टेक्नोलोजीले घरमै बसेर विवाह गर्ने वर वा वधू एपमार्फत खोज्नका लागि पञ्चेबाजा ‘एप’ सञ्चालनमा ल्याएको छ । विवाहकै लागि भनेर बनेको वेबसाइट ‘जीवनसाथी डट कम’ भारतमा बहुचर्चित छ । नेपालमा भने डेटिङका लागि अमेरिकन एप ‘टिन्डर’, भारतीय एप ‘साथी’ लगायतका एपका अभ्यास भइरहेको छ । तर विवाहकै लागि भने यस्ता किसिममा एप चर्चामा आएका छैनन् । पञ्चेबाजा एपले भने लमीको भूमिकामा विवाहका लागि नै वर र वधू खोज्नमा सहयोग गर्ने जनाइएको छ । यो एपमा आफूलाई चाहिएको व्यक्ति कस्तो हुनुपर्ने हो त्यसको विवरण राखेर खोज्न सकिन्छ । एन्ड्रोइड र आइफोन दुवैमा उपलब्ध यो एप डाउनलोड गरिसकेपछि आफ्नो तस्विरसहितको प्रोफाइल बनाउनुपर्ने हुन्छ । त्यसमा आफूले चाहेको पार्टनरको मापदण्ड तोक्नुपर्ने हुन्छ । हिजोआज फेसबुकबाटै चिनजान भएको भरमा पनि विवाह हुन्छन् । तर फेसबुकमाा जस्तो फेक प्रोफाइल नबनोस् भनेर यसमा अलि भिन्न व्यवस्था छ । प्रोफाइलमा फोटो हालिसकेपछि एपले सेल्फी फोटो पनि अपलोड गर्न भन्छ । त्यो सेल्फीसँग अर्को फोटो मिलेन भने ‘रातो’ बत्ती बल्छ । यो भनेको तपाईंको प्रोफाइल शंकास्पद छ भन्नु हो । तर सेल्फीसँग फोटो मिलेको सन्दर्भमा भने हरियो बत्ती बल्छ । प्रोफाइल बनेपछि आफूले खोजेको र प्रोफाइलमा राखेको मापदण्ड पूरा भएका व्यक्तिलाई एपले प्राथामिकतामा देखाउँछ । त्यसमा आफूले खोजेको र अर्को व्यक्तिले चाहेको कत्तिको मिल्यो भनेर पनि देखाउँछ ।