गम्भीर दुर्घटनामा सम्पर्कमा नआई ड्युटी समयमा केटीसँग होटलमा यसरी भेटिएका थिए डिएसपी चौधरी

काठमाडौं । ड्युटीको समयमा केटीसँग होटलमा भेटिएका डिएसपी निलम्बनमा परेपछि कारवाहीकाे प्रक्रिया सुरु भएकाे छ । इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका तत्कालीन इन्चार्ज डिएसपी भरतबादुर चौधरीलाई गृह मन्त्रालयले निलम्बन गरी कारवाहीको प्रक्रिया सुरु गरेको हो । मंसिर ९ मंगलबार राति ९ बजेर ५५ मिनेटमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको गौरीगंगा नगरपालिकास्थित चौमालामा ना३ख ५९४२ नम्बरको ट्रकले सु.प.प्र ०१०० प ९७६ को मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक गोदावरी नगरपालिका–४ बस्ने २२ वर्षीय अर्जुन चौधरी र मोटरसाइलकमा सवार २४ वर्षीय प्रेम चौधरी दुर्घटनामा गम्भीर घाइते भएका थिए । इलाका प्रहरी कार्यालय मालाखेतीले जिल्ला प्रहरी कार्यालयलाई जानकारी गरायो । जिल्लाका एसपी अनुपम राणाले प्रहरी नायव उपरीक्षक भरत चौधरीलाई सम्पर्क गर्दा उनीसँग सम्पर्क भएन । रातभर पनि उनी सम्पर्कमा आएनन् । गम्भीर घाइते भएका अर्जुनको उपचारका क्रममा मृत्यु भयो । तर एसपीले सम्पर्क गर्दा पनि प्रहरी नायव उपरीक्षक चौधरी सम्पर्कमा आएनन्। ठूलो दुर्घटना हुँदा पनि इलाका प्रहरी कार्यालयका इञ्चार्ज नै सम्पर्कविहीन भएपछि राती नै उनको लोकेसन खोजी भएको थियो । भोलिपल्ट उनी बुढीतोलाको होटलमा युवतीसँग भेटिएका थिए । सोही दिन उनलाई जिल्लामा तानेर निलम्बन सिफारिस गरिएको थियाे ।
प्रतिक्रिया