प्रधानमन्त्रीका सल्लाहकारको काम : कहिले प्रधानमन्त्रीको ट्वीटर दुरुपयोग अहिले वामदेवको उछित्तो

काठमाडौं । केही दिन अघि प्रधानमन्त्री केपी ओलीको ट्वीटर ह्याण्डलबाट पत्रकारलाई नयाँ मिडिया खोल्नको लागि बधाई दिएर प्रधानमन्त्रीको ह्याण्डल दुरुपयोग गरेका सल्लाहकार सूर्य थापा वामदेव गौतमको फोटो सेयर गरेर फेरि विवादमा आएका छन् । आइतबार बिहान थापाले पार्टी उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले डोरी नाघेको फोटो फेसबुकमा हालेका हुन् । सुशील कोइराला प्रधानमन्त्री हुँदा गृहमन्त्री भएका वामदेवले सडकमा राखिएको डिभाइरको डोरी नाघ्दै गरेको फोटो नयाँ पत्रिकाले प्रकाशित गरेको थियो । नेकपामा आन्तरिक शक्ति संघर्ष तीव्र बन्दै गर्दा थापाले वामदेवप्रति व्यंग्य गर्दै यो कस्तो ? तस्वीर काफी छ ! भन्दै फोटो सेयर गरेका हुन् । शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्रीका सल्लाहकारबाट थापालाई हटाउन वामदेवले माग गरेका थिए । आफूलाई हटाउने प्रस्तावविरुद्ध खनिंदै थापाले वामदेवको विवादित फोटो सेयर गरेका हुन् ।तर, सामाजिक संजालमा विरोध हुन थालेपछि उनको टाइमलाइनमा यो फोटो देखिंदैन । फोटो हालेलगत्तै थापाको शैलीमाथि आलोचना हुन थालेपछि उनले टाइमलाइनमा यो फोटो अरुले देख्न नमिल्ने बनाएका छन् ।
प्रतिक्रिया