NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

पञ्चायती शैलीको छलछाममा ओली र प्रचण्ड

प्रधानमन्त्री केपी ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले ८ फागुन अपरान्ह ५ बजेर ७ मिनेट जाँदा ट्वीट गरे, ‘धन्यवाद प्रदेश नं. १ ।’ नेकपा ओली समूहले हिजो प्रदेश नंं. १ विराटनगरमा प्रदेशस्तरीय सभा गरेको थियो । सत्तारुढ नेकपा ओली समूहका स्थायी समिति सदस्यसमेत रहेका रिमालको ट्वीटको अर्थ बुझ्न कठिन थिएन्, प्रदेश नं. १ को सभामा उपस्थित ‘नागरिक भीड’ बाट उत्साहित भएर उनले प्रधानमन्त्री ओलीको फोटा समेत राखेर उक्त ट्वीट गरेका थिए। नेकपा ओली समूहले नारायणहिटी राजदरवार अगाडि २३ माघमा वागमती प्रदेशस्तरीय सभा गरेको थियो । त्यो सभाको अन्त्यतिर प्रधानमन्त्री ओली गर्जदै थिए, ‘यो त काष्टिङ मात्र हो । आमसभा कस्तो हुन्छ, अब बुटवल र विराटनगरमा हेर्नुहोला।’ आन्दोलनरत नेकपाले २८ माघमा काठमाडौंमा आयोजना गरेको सभाको सुरुमै पूर्व प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उत्तेजित भए । ओलीलाई दुत्कार्दै प्रचण्ड हौसदै थिए,‘..मलाई यहाँ बस्दा बस्दै एसएमएस गरेर केही साथीहरुले भन्नु भयो, अहिले पाँच लाख मान्छे छन् भन्ने सबैले अनुमान गरेका छन् भन्नु भयो । तपाईहरूको यो लाखौंको उपस्थिति, म केपी ओलीजीलाई ..अस्ति उहाँले भन्नु भयो….सभा कस्तो हुन्छ हामी देखाउँछौं । केपीजी देख्नुभयो सभा कस्तो हुन्छ ? देख्नु भयो विरोध कस्तो हुन्छ ? प्रर्दशन कस्तो हुन्छ ? तपाईं अझै पनि लाखौं लाख जनताको यो उपस्थितिलाई बुझ्नु भएन भने म तपाईंलाई चुनौती दिन्छु, हेर्नु होला– केही दिन पछि सिंहदरवार घेर्न र बालुवाटार घेर्न लाखौं लाख जनता आउने छन् । अझ् ठूलो उपस्थितिको साथ तपाई‌को प्रतिगमनको तपाईको निरंकुशता, तपाईको लोकतन्त्रको हत्या गर्ने अपराधी चरित्र नेपाली जनताले बुझिसकेको छ । त्यसकारण जरुरी पर्‍याे भने सिंहदरवार र बालुवाटार घेर्ने अर्को आमसभा हामी आयोजना गर्नेछौं ।’ प्रचण्डले यस्तो अभिव्यक्ति दिएको केही घण्टा नबित्दै सत्तापक्षीय ओली समूहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले फेसबुकमा स्टाटस लेखे– ‘देशभरीको होइन, एउटै प्रदेशका जनताको जनसहभागिता कस्तो हुन्छ हेर्न फागुन १ गते वुटवलमा स्वागत छ राजधानीका पत्रकार मित्रहरुलाई।’ सत्तारुढ नेकपा दुई चोइटा भएपछि यसबेला उनीहरूबीच भीड जम्मा गर्ने प्रतिस्पर्धा चलिरहेको छ। भीड जम्मा गर्ने प्रतिस्पर्धामा को उत्कृष्ट हुने भनेर उनीहरुले सर्वसधारणलाई भेडाबाख्रा त बनाइरहेका छन् नै, शब्द जालका अनेकन वाण प्रहार गरिरहेका छन्। भक्तपुर–काठमाडौं रत्नपार्क ‘रुट’ मा चल्ने गाडी २८ माघको बिहान ११.२० बजे तीनकुने आई पुगेको थियो । गाडीमा यात्रुहरु खचाखच थिए । तर, ट्राफिक प्रहरीले गाडीलाई तीनकुनेबाट बानेश्वरतिर अघि बढ्नै दिएन । उल्टै जताबाट आएको हो, त्यतै फर्काइदियो । ट्राफिकले गाडी किन अघि बढ्न दिएन ? कतिपय यात्रुहरू अनभिज्ञ दिए । ‘यो के गरेको, के गरेको’ भन्दै चिच्याउन लागि परे । केही यात्रु भने प्रचण्ड–नेपाल समूहलाई गाली बर्साउन थाले। सभाका लागि भीड जम्मा गर्ने नेताहरूले आफूले के बोल्दैछु भन्ने मेसो समेत पाउन छाडेका छन् वा जानी–जानी सर्वसाधारणलाई उत्तेजित बनाउने प्रयास गरिरहेका छन्। ओली कदमविरुद्ध प्रचण्डले मांसाहारी अर्थात् हिंसात्मक आन्दोलन जरुरी रहेको बताएका छन्। जब कि ओलीसँग मिलुञ्जेल ‘जनयुद्ध’कालका लडाकू, सहयोद्धा नेताकार्यकर्ता भुल्ने एक जना अगुवा प्रचण्ड नै थिए । चालक, सहचालकको उर्दीपछि यात्रुहरू अमिलो मन बनाउँदै लुरुक्क बाहिरिन बाध्य भए। गाडीबाट बाहिरिएर हेर्दा तीनकुने क्षेत्रको दृश्य अझ् बढी अस्तव्यस्त र दयनीय थियो । त्यहाँ झण्डै एक सय हाराहारी गाडीको अव्यस्थित लाम थियो । ती गाडीबाट सर्वसाधारणहरु निस्कँदै गरेको दृश्य झन् कारुणिक थियो । तराई–मधेस मुलका नागरिक ह्वारह्वार्ती गाडीबाट झरिरहेका थिए । उनीहरुको हुल सडकमा छयापछ्याप्ती थियो । सर्वसाधारणको बेहालसारी, फरिया, गुन्यूसमेत राम्ररी बेरेर लगाउन नजान्ने महिला र धोती/कमिजमा असरल्ल छरिएका पुरुषहरुको हाल बेहाल निकै याचनीय थियो । तर, उनीहरुसँग याचना गर्ने कोही थिएन । बरु त्यस दिनको सभामा ठूलो संख्या देखाउन उनीहरुलाई गाडीभित्र कोचेर ल्याउन पाएकोमा आन्दोलनरत नेकपा प्रचण्ड–नेपाल पक्षका नेता/कार्यकर्ताहरु दङ्ग देखिन्थे । त्यस अघि ओली पक्षले एउटा सभा त छुट्टै धोती जुलुसको नाममा गरेको थियो । दुवै सभामा सहभागी गराइएकामध्ये स्वतस्फूर्त आउनेहरु सायदै एक प्रतिशत हाराहारी मात्र थिए। २८ माघको सभालाई भीड जम्मा गर्न प्रचण्ड–माधव नेपालले २७ माघमा भिडियो अपील नै जारी गरे। त्यसअघि प्रचण्ड–नेपालले २२ माघमा आमहड्ताल नै घोषणा गरेका थिए। रोचक के भने त्यसको भोलिपल्ट ओली पक्षले नारायणहिटी राजदरवार अघि ठूलो सभाको आयोजना गर्दै थियो । ओली समूहले आफ्नो सभामा मानिसहरु उपस्थित हुन नदिन प्रचण्ड–नेपाल पक्षले आम हड्ताल गरेको प्रपञ्चका रुपमा प्रचार गर्‍याे। भलै, आम हड्ताल पक्षधरले भने ओली समूहले २१ माघको बिहानै संवैधानिक निकायमा गरिएका नियुक्तिलाई गराइएको सपथलाई बहाना बनाएको थियो। प्रधानमन्त्री केपी ओलीले ५ पुसमा संविधान विपरीत प्रतिनिधिसभाको विघटन सिफारिस गरे। सिफारिसको मसी सुक्न नपाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई सदर गरिदिइन । यसपछि सत्तारुढ नेकपाभित्रको भाँडभैलो दुनियाँसामू छर्लङ्ग छ । सत्तामा रहुन्जेल सर्वसाधारणको हितमा मौन बसिरहेका दुवै खेमा त्यसयता शब्द शैलीमार्फत् भावुक लोक कल्याणकारी बनिरहेका छन् । र, सर्वसाधारणलाई जर्वजस्ती भीडमा उतारिरहेका छन्। उनीहरुले आफूले के बोल्दैछु भन्ने मेसो समेत पाउन छाडेका छन् वा जानी–जानी सर्वसाधारणलाई उत्तेजित बनाउने प्रयास गरिरहेका छन् । ओली कदमविरुद्ध प्रचण्डले मांसाहारी अर्थात् हिंसात्मक आन्दोलन जरुरी रहेको बताएका छन् । जब कि ओलीसँग मिलुञ्जेल ‘जनयुद्ध’कालका लडाकू, सहयोद्धा नेता/कार्यकर्ता भुल्ने एक जना अगुवा प्रचण्ड नै हुन् । नेपाली कांग्रेस परित्याग गरेर आफूमा विलीन भएको केही समयभित्रै नातामा भाई पर्ने महेश दाहाललाई अष्ट्रेलियाको लागि राजदुत बनाउन प्रचण्डले अलिकति पनि धक मानेनन्। तर, दुःसाध्यकालमा साथ दिँदा अङ्गभङ्ग भएका लडाकूहरुको गाँस काटिंदा त्यो कदमविरुद्ध आवाज उठाउन जरुरी ठानेनन् । अहिले तिनै प्रचण्ड फेरि आफू लडाकूहरुको ‘भगवान’ बन्न तयार रहेको ‘कसम’ खाँदैछन् । उनको कसमलाई सहज अवस्थामा परित्यक्त गरिएका कार्यकर्ताहरु सहजै विश्वास गर्दैछन्। संविधानको ठाडो उल्लंघन गरेर निरंकुशताको नेतृत्व गरिरहेका ओलीले प्रधानमन्त्रीको कार्यकारी अड्डा सिंहदरवारमा ९ महिनासम्म नटेक्दा अप्ठ्यारो मानेनन् । राष्ट्रिय/अन्तराष्ट्रिय प्रचलन अनुसार कार्यकारी प्रमुखको कुर्सी रहेर गर्नुपर्ने काम उनले निवासबाटै गरे । यसबेला भने भीडको अगुवाई गर्दै देश दौडाहामा छन् । तीन वर्ष कार्यकारीको कुर्सीमा बस्दा ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराको असली रुप देखाइसकेका ओली अझै सर्वसाधारणलाई रुमानी सपना देखाएर ढाँट्न व्यस्त छन्। संविधानको ठाडो उल्लंघन गरेर निरंकुशताको अभ्यास गरिरहेका ओलीले प्रधानमन्त्रीको कार्यकारी अड्डा सिंहदरबारमा ९ महिनासम्म नटेक्दा अप्ठ्यारो मानेनन् । यसबेला भने भीडको अगुवाई गर्दै देश दौडाहामा छन् । तीन वर्ष कार्यकारीको कुर्सीमा बस्दा ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा देखाइसकेका ओली अझै सर्वसाधारणलाई रुमानी सपना देखाएर ढाँट्न व्यस्त छन् । शनिबार विराटनगरको सभामा त प्रधानमन्त्री ओलीले अदालतलाई समेत धम्क्याए । अदालतले आफ्नो हठी कदमविरुद्ध फैसला गरिदिने हो कि भन्ने त्रासमा रहेको ओली बाण थियो, ‘अदालतप्रति कुनै प्रकारको जालझेल, षडयन्त्र, तीकडम, सेटिङ भएर देश र जनताको विपक्षमा फैसला भयो भने हाम्रो आन्दोलन अगाडि बढ्छ ।’ उनले त्यहाँबाट उपराष्ट्रपति, सभामुख, नेकपा नेतृ रामकुमारी झाक्रीलगायतप्रति समेत दुर्वचन बोल्न भ्याए । यस्तो दुर्वाच्य बोल्नमा प्रचण्ड, माधवकुमार नेपाललगायत नेताहरु पनि कम छैनन्। चुनावदेखि चुनावसम्मको खेलसाहित्यकार, लेखक एवं विश्लेषक नारायण ढकालका भनाईमा आन्दोलनमार्फत मुलुकको परिवर्तन हु“दा व्यक्तिहरु बदलिए । तर, सत्ताको संरचना, मूल्यप्रणाली, चिन्तन, सोच जस्ताको तस्तै रह्यो । नेताहरु लोकप्रियताभन्दा लोकरञ्जनवादमा गए। राजनीति भौतिक श्रम गर्ने भुई“ मान्छेहरुको जीवनस्तर उकास्ने समृद्धिका निम्ति हुनु पर्ने थियो । तर, जनताका नाममा अर्कै एएटा भुँईफुट्टा वर्ग जन्मियो । त्यो भुईफुट्टा वर्गले जनता, जनता भनेर आफ्नो स्वार्थ पूरा गरिरहेको र बाँकी स्वार्थ पूरा गर्न जनताकै नाममा भीड जम्मा गरेर प्यारोडी देखाईरहेको ढकाल बताउँछन्। भीड जम्मा गर्ने प्रतिस्पर्धालाई ढकाल विगतका पञ्च र्‍यालीसँग दाँज्छन्। ‘पञ्चायतमा हेमबहादुर मल्ल भन्ने एक जना गजवका पात्र थिए । उनले पनि काठमाडौंमा पञ्चर्‍याली हुँदा हिन्दु मधेसी जनतालाई ल बस्न, खान, पशुपति दर्शन गर्न सित्तै जान पाउने भयौ । हिड् भनेर ल्याउँथे’, ढकाल नेपालवाचसँग भन्छन्, ‘तिनीहरुलाई राजनीतिसँग कुनै सरोकार हुँदैनथ्याे । अहिले त्यही पुनरावृति भयो । पञ्चायतमा भन्दा अहिले एउटा कुरा मात्र बदलिएको छ, पञ्चायतमा निर्दलीय नाममा एउटा मात्र दल थियो । अहिले अरु धेरै दल भए । त्यति मात्र फरक हो । भीड जम्मा गर्ने शैली उस्तै छ ।’ पूर्व सांसद समेत रहेका ढकाल यसो हुनुमा मुलुकले अंगीकार गरेको प्रणालीमै दोष देख्छन्। उनका शब्दमा परिवर्तनपछि राज्यको वैधता, योजना, संरचना, भन्ने र गर्ने व्यवहार, सपना र यथार्थबीचको तालमेलमा फरक देखिनु पर्ने थियो । परिवर्तनपछि उदाएका नेताहरुले त्यो ताममेलमा जान आवश्यक ठानेनन् । पुरानो सत्ताका व्यक्ति मात्र बदलिए । पार्टीहरु चुनावदेखि चुनावसम्म मात्र भए तर, जनताको लागि भएनन्। ‘चुनावका लागि पार्टीहरूले भीड जम्मा गर्ने, ढाँट्ने, छल्ने सब काम गरिरहेका छन् । जनतालाई ढाल बनाएर गरिएको शक्ति प्रर्दशन पनि केवल निर्वाचनसम्मका लागि मात्र हो । चुनावबाट शक्ति आर्जन गर्न हो’, ढकालको निश्कर्ष छ, ‘नेताहरू विधि, प्रकृया नमान्ने तथाकथित हिरो बन्ने अभियानमा लागे । शक्ति प्रर्दशनमा गए । अहिले देखिएको तमासा त्यसैको पराकाष्ठा हो ।’हुन पनि हरेक राजनीतिक परिवर्तनले राजनीतिक ढाँचा, प्रणालीमा आमूल फेरबदल खोज्छ । तर, हाम्रो वियोगान्त के भने सत्तामा हालीमुहाली गरेका पात्रहरु बदलिए । तर, पुरानो सत्तालाई नयाँले पनि यथावत रुपमा लिए । संकट त्यहीँबाट सुरु भएको देखिन्छ । नेपाल र श्रीलंकाको द्वन्द्व अध्ययन गरेर हाल बानेश्वरस्थित के एण्ड के कलेजमा अध्यापन गरिरहेका अध्येता सन्तोष परियारका शब्दमा प्रचण्ड–माधव पक्ष हुन् वा ओली– सर्वसाधारणको भीड जम्मा गरेर आफू उत्कृष्ट हौं भन्ने नैतिक आधार उनीहरूसँग छैन । तर, उनीहरूसँग जुन नैतिक आधार छैन, त्यही गरिरहेका छन् । ओलीले संसद विघटन गरेर प्रतिगामी कदम चाल्नुमा परियार प्रचण्ड–माधव समूहलाई पनि दोषीरहित मान्दैनन् । उनी भन्छन्, यसका लागि प्रचण्ड–माधव समूहको पनि कहीं न कहीं भूमिका छ । यिनीहरू चाहिँ निर्दोष छन् भन्ने होइन, यसको समुच्च रुप नै ओलीको प्रतिगमन हो ।’ प्रचण्ड–माधव र ओली दुवै पक्षले राजनीतिक स्वार्थका लागि मात्र भीड जम्मा गरिरहेका अध्येता परियारको बुझाई छ । ‘भीड जम्मा गरेर प्रचण्ड–माधव नेपालले हाम्रो कुनै गल्ती छैन् भन्नु दुधको साक्षी बिरालो बने सरह मात्र हो । उनीहरूले पनि नैतिक दृष्टिले क्षम्य काम गरेका छैनन्’, उनको कथन छ, ‘प्रधानमन्त्री ओलीले जे गरिरहेका छन्, गाईजात्राभन्दा चर्को जात्रा देखाइरहेका छन्।सुशासनका पक्षबाट हेर्दा पनि भ्रष्टाचार गरिरहेका छन् ।’ यस शैलीले जनताका नाममा जनतालाई नै दुःख दिइरहेका परियारको निश्कर्ष छ । समाजशास्त्रमा स्नातकोत्तर गरेर सडक आन्दोलनमा सहभागी भइरहेकी नेतृ उषाकिरण तिम्सेनाका भनाईमा भीड के का लागि जम्मा गरिएको हो भन्ने कुराले महत्वपूर्ण अर्थ राख्छ । परिवर्तनका आधार, अधिकार खोसिएपछि सडकमा आएर तिम्रा अधिकारका लागि लड भन्नु आन्दोलन हो । तर, प्रतिगमनलाई नै सहयोग गर भनेर भीड जम्मा गर्नु गलत हो । प्रधानमन्त्रीले आन्दोलन गर्ने होइन । प्रधानमन्त्रीले त राष्ट्रिय उत्सवहरूमा भाग लिने हो । ‘माओवादी शान्ति प्रकृयामा आएपछि मान्छेलाई एउटा भोट वा एउटा टाउकोमा सीमित गरियो । त्यो गलत थियो । त्यसैको अनुसरण तत्कालीन एमाले, कांग्रेसले पनि गरेका थिए । त्यो पनि गलत नै थियो’, तिम्सेना भन्छिन्, ‘पार्टीलाई विधि, पद्दतिमा, विचारको बहसमा चलाइएन । विधि, पद्दति कुल्चदै जानुको पराकाष्टा ओलीको कदम हो । प्रतिगमनकारी कदम चालेर ओलीले हामीलाई जर्वजस्ती सडकमा ल्याइदिएका छन् । ओली र ओली जस्तै प्रवृत्तिको सदाको अन्त्यका लागि सडक संघर्ष गर्नु परेको हो।’ माक्र्सले नेपोलियन बोनापार्टको १८ औं ब्रुमेरमा लेखेका छन्, ‘परिवर्तनले सत्ताको संरचनामा फेरबदल ल्याउनु पर्छ । मूल्य, प्रणाली, संरचनालगायत उस्तै रहे भने परिवर्तनले मान्यता राख्दैन् ।’ ०३६, ०४६, ०६२०६३ को परिवर्तनले सत्ताको संरचनामा उलटपुलट ल्याउन नसकेकैले फेरि सडकमा भीड जम्मा भएको हो त ? सत्य के भने परिवर्तनपछि उदाएका नेताको नियत सधैं सधैं एउटै र उस्तै देखिन्छ ।

ताजा अपडेट

नेपालवाच विशेष