NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

काठमाडौंमा मेलम्चीको पानी : भोलिदेखि सुरुङ परीक्षण, सफल भए वैशाखदेखि धारामा पानी

काठमाडाैं । काठमाडौंमा मेलम्चीको पानी ल्याउने गरी तयारी अघि बढाइएको छ । सोमबार (१० फागुन) देखि पानी बग्ने सुरुङको परीक्षण सुरु गरिँदै छ । मेलम्ची खानेपानी वितरण विकास बोर्डका सूचना अधिकारी राजेन्द्र प्रसाद पन्तका अनुसार योजना मुताविक नै परीक्षण सफल भए आगामी वैशाखदेखि नै उपभोक्ताको धारामा मेलम्चीको पानी झर्छ । सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि साढे २६ किलोमिटरको सुरुङ छिचोलेर काठमाडौंमा पानी ल्याउनेगरी बोर्डले परीक्षण सुरु गर्दैछ । मेलम्चीमा करिब एक करोड लिटर क्षमताको पानी भण्डारणको क्षमता निर्माण गरिएको छ । त्यहींबाट सुरुङमा पानी खसालेर परीक्षण गर्न लागिएको हो । आयोजनाका अनुसार सुरुङमा पानी भरेर परीक्षण गरिन्छ । सुरुङमा पानी भरिनै १५ दिन लाग्ने बोर्डका सूचना अधिकारी पन्त बताउँछन् । ‘सुरुङमा विस्तारै पानी पठाएर होल्ड गर्दै, कहींकतै लिकेज भए÷नभएको लगायतका प्राविधिक समस्या केलाउँदै परीक्षण गर्नुपर्छ,’ उनी भन्छन्, ‘यही विधिबाट एकचोटी पानी भरेर, त्यसलाई रित्याएर फेरि भरेर परीक्षण गर्नुपर्छ ।’ सुरुङको परीक्षण सकेपछि पानी सुन्दरीजलको प्रशोधन केन्द्रमा खसाइन्छ । केन्द्रको पनि परीक्षण गर्नुपर्छ । यसको क्षमता १६ हजार घनमिटर छ । प्रशोधन केन्द्रको परीक्षण पनि सकेपछि त्यहाँबाट विस्तारित हुने वितरण प्रणालीको सञ्जालको परीक्षण सुरु गरिने आयोजनाका सूचना अधिकारी पन्त बताउँछन् । मेलम्ची आयोजनाका अनुसार सुन्दरीजलको प्रशोधन केन्द्रको परीक्षण सकेपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पुरानै वितरण सञ्जालबाट पानी वितरण गर्दै आयोजनाले पानी वितरणका लागि बनाएको नयाँ सञ्जालको परीक्षण गर्नेछ । अहिले लिमिटेडको वितरण सञ्जालबाट दैनिक १५ देखि १६ करोड लिटर पानी वितरण गर्न सकिन्छ । यसपछि क्रमशः परीक्षण गर्दै आयोजनाले बनाएको नयाँ संरचनाबाट पानी थालिनेछ । आयोजनाले बनाएका संरचनाको परीक्षण सकिन कम्तीमा पनि दुई महिना लाग्ने बोर्डका सूचना अधिकारी पन्त बताउँछन् । ‘परीक्षण गर्दै जान्छौं, यो सोचेजस्तै सफल भयो भने दुई महिनामा उपभोक्ताको धारामा मेलम्चीको पानी खस्छ, यो भनेको वैशाखको आसपासको समय हो ।’ मेलम्चीबाट काठमाडौं उपत्यकामा दैनिक १७ करोड लिटर पानी वितरण हुने बोर्ड बताउँछ । यसमा केयुकेएलको हाल वितरण भइरहेको पानी पनि थपिन्छ । मेलम्ची र केयुकेएलको पानी जोड्दा दैनिक अधिकतम ३४ करोड लिटर पानी काठमाडौंमा वितरण हुने खानेपानी तथा सरसफाइ मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्य बताउँछन् । शाक्यका अनुसार अहिले काठमाडौं उपत्यकामा खानेपानीको दैनिक औसत उपभोग ४३ करोड लिटर छ । तर, सुक्खा याममा अहिले करिब आठ करोड लिटरमात्र पानी वितरण भइरहेको छ । ‘मेलम्चीको पानी आए काठमाडौंको खानेपानीको चरम अभावको समस्या टर्छ ।’ शाक्य भन्छन् ।

ताजा अपडेट

नेपालवाच विशेष