प्रधानन्यायाधीशले प्रधानसेनापतिलाई बोलाएर सर्वोच्चमा भेटेपछि अनेक आशंका !

काठमाडौं । प्रख्यात नेपाली लोक उखान छ, ‘बाघ कराउनु र बाख्रो हराउनुको संयोग ।’ आज त्यही लोक उखानको त्रास झल्काउने गरी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाबीच भेट भएको छ । प्रधानन्यायाधीश राणाले प्रधान सेनापति थापालाई सर्वोच्च अदालतमै निम्त्याएर भेट गरेका हुन् । प्रधानमन्त्री केपी ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गरेपछि त्यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । त्यो मुद्दालाई आफू अनुकूल फैसला गर्न प्रधानमन्त्री ओली र आन्दोलनरत प्रचण्ड–माधव नेपाल समूहले दवाव दिइरहेका छन् । प्रतिनिधि सभा विघटनको मुद्दा फैसला हुनै लागेको बेला भएको प्रधान न्यायाधीश जबरा र प्रधान सेनापति थापाको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको हो । नेपाली राजनीति अस्थिरतातिर जाने आशंका भइरहेको बेला न्यायालय र सुरक्षा मेरुदण्डका प्रमुखहरुबीच भेट भएकाले पनि यो भेटलाई शंकाको नजरले हेरिनु स्वभाविक छ । वैशाखमा निर्वाचन नहुने, त्यसपछि अस्थिरता निम्तने र आउँदो कात्तिक÷मंसिरतिर खिलराज रेग्मी भाग–२ श्रृखंला अन्र्तगत प्रधानन्यायाधीश राणा प्रधानमन्त्री बन्न सक्ने आशंका जानकारहरुले गरिरहेका छन् । त्यही योजना अन्तर्गत राणा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा पुन:स्थापनाको फैसला गर्दैन भनेर समेत जानकारहरुले अड्कलबाजी गरिरहेका छन् । अर्कातिर संविधान अनुसार प्रधानमन्त्री ओलीलाई संसद् विघटनको अधिकार नभएकाले राणा नेतृत्वको इजलासले प्रतिनिधिसभा पुन:स्थापनाकै फैसला गर्छ । तर, त्यो बेला ओली सेनालाई अघि सारेर सत्तामै रही रहन चाहन्छन् भन्ने मत पनि बलियो बनिरहेको छ । आशंकाका यस्ता अनेक बादलहरु मडारिइरहेका बेला प्रधानन्यायाधीश र प्रधान सेनापतिबीच भेट भएकाले ‘बाघ कराउनु र बाख्रो हराउनुको संयोग’ का रुपमा लिइएको छ । यद्यपि सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले भने सर्वोच्च अदालतको भवन बनाउने विषयमा मात्र प्रधान न्यायाधीश र प्रधान सेनापतिबीच भेट भएको नेपालवाचलाई बताएका छन् । सैनिक प्रवक्ता पौडेलको अनुसार सर्वोच्च अदालतले अहिले जहाँ नयाँ भवन बनाउने तयारी गरिरहेको छ, त्यहाँ ४३ रोपनी ६ आना जग्गा सेनाले भोगचलन गरिरहेको छ । केही वर्ष अघिसम्म त्यहाँ नेपाली सेनाको क्याभलरी गण थियो । त्यो गणलाई हाल नारायणहिटी राजदरवारको उत्तर ढोका नजिकै सारेको छ । तर, पनि सिंहदरवार परिसरको जग्गामा नेपाली सेना बसिरहेको छ । ‘सेनाले भोग चलन गरिरहेको सिंहदरवारभित्रको जग्गामध्ये केही भागमा सर्वोच्च अदालतले नयाँ भवन बनाउने भनिरहेको छ । त्यही विषयमा छलफल गर्न प्रधान न्यायाधीश र प्रधान सेनापतिबीच भेट भएको हो’, सैनिक प्रवक्ता पौडेल भन्छन्, ‘यसलाई आशंकाको कोणबाट हेर्न जरुरी छैन ।’
ताजा अपडेट
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
-
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
प्रतिक्रिया