NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

पर्यटन व्यवसायीको प्रश्न : कार्यकर्ता ओसार्दा कोरोना नलाग्ने, पर्यटक क्वारेन्टिन बस्नुपर्ने ?

काठमाडौं । पर्यटनसँग सम्वद्ध व्यवसायीले आफूहरूले सिसिएमसी(कोभिड संकट व्यवस्थापन समिति)मा बुझाएको बिन्तीपत्र मुसाले खाइसकेको भन्दै सरकारलाई आफ्नो मागप्रति ध्यानाकर्षण गराएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल ऐजेन्ट्स(नाट्टा) का अध्यक्ष अच्युत गुरागाईंले भने, ‘सरकारलाई मेरो एकमात्र प्रश्नः स्वास्थ प्रोटोकोल मिचेर कार्यकर्ता ओसार्दै आन्दोलन गर्दा कोरोना नलाग्ने, घुम्न आउने पर्यटकका लागिचाँहि क्वारेन्टिन ? हामीले बुझाएको चाङका चाङ बिन्तीपत्र सिसिएमसीमा मुसाले खाइसक्यो ।’ व्यवसायीले लामो समयदेखि नेपाल घुम्न आउने पर्यटकका लागि मापदण्डको रुपमा बनेको स्वास्थ्य प्रोटोकोल आफैं समस्या भएको भन्दै यसलाई खुकुलो बनाउन र इमिग्रेसन खुलाउनका लागि माग गर्दै आएका छन् । तर, उक्त फाइल यतिबेला सिसिएमसीमा अलपत्र छ । सरकारले नेपाल घुम्न आउने पर्यटकका लागि राखेको ७ दिने क्वारेन्टिन अवधि अझै हटाएको छैन । अनअराइभल भिसा पनि पूर्ण रुपमा खुलाइसकेको अवस्था छैन । त्योसँगै पाँच हजार अमेरिकी डलर बराबरको कोरोना बिमा लगायतका कारण नेपाल घुम्न आउन चाहने पर्यटक आउन नमानिरहेको व्यवसायीले बताउँदै आएका छन् । विदेशी पर्यटकमा निर्भर देशमा पर्यटकीय संस्थाहरू टाट पल्टिदै गएको अवस्थामा पनि सरकारले कर तिराउँदा व्यवयासीहरू यतिबेला उठ्नै नसक्नेगरि थला परेका छन् । यस्तो अवस्थामा अझै पनि सरकारले आफ्नो नीतिमा फेरबदल नगरे व्यवसायीहरूले तत्कालै कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् । ‘हाम्रो नीतिले आन्दालन गर्र्न दिँदैन । अहिलेसम्म शान्तिपूर्ण आन्दोलन गरेका छौं, गुरागाईंले भने, ‘यिनिहरुले के नै गर्लान् ? भन्ने सोच होला । अब कडा आन्दोलनमा गइन्छ ।’ भ्रमण वर्ष २०२० मनाउने भन्दै सरकारले व्यवसायीलाई हौसाएपछि व्यवसायीले गरेको करोडौं लगानी यतिबेला बालुवामा पानी हुँदा पनि सरकारले ल्याएको राहत कागजमैं सीमित भएको उनले बताए । ‘सरकारले ल्याएको मौद्रिक नीति कागजमै मात्र सीमित भयो,’ उनले भने, ‘मन्त्रीका आसेपासेबाहेक अधिकांशले राहत प्याकेज पाएका छैनन् ।’ यस्ता छन् व्यवसायीका माग व्यवसायीहरूका अनुसार सरकारले गत १ कात्तिकबाट पदयात्रा तथा पर्वतारोहण खुला गरेपनि यतिबेला पर्यटकका लागि नयाँ सिजन सुरु हुन लाग्दासमेत पर्यटन आगमनमा कुनै आकर्षण देखिएको छैन । यस्तोमा सरकारको आफ्नै नीति पर्यटकका लागि तगारो बनेको भन्दै उनीहरूले पिसिआर रिपोर्ट साथमा लिएर आउने पर्यटकका लागि ७ दिने क्वारेन्टिन हटाउनुपर्ने माग राखेका छन् । अनलाइन, अराइभल तथा विदेशस्थित नेपाली दूतावासनियोगबाट पाइने भिसालाई पूर्ववत् रुपमा लागू गर्नुपर्ने माग व्यवसायीहरूको छ । यतिबेला लगभग ३७ देशमा मात्रै नेपाली दूतावास छन् । दूतावास नभएका देशबाट विदेशी आउनुपर्ने भएमा त्यसका लागि कुनै पनि प्रावधान बनाइएको छैन । त्यसकै लागि अनअराइभल भिसा खोल्न भन्दै व्यवसायीहरूले पटक–पटक माग गर्दै आएका छन् । त्यस्तै नेपाल र चीनबीचको सीमा नाकाहरू पनि यथाशिघ्र खोल्नुपर्ने माग उनीहरूको छ । यसका साथै ती नाकाबाट भित्रिने पर्यटकलाई पनि सरकार तथा सम्बन्धित निकायलाई अनुगमन गर्न उनीहरुले सुझाएका छन् । पर्यटकलाई नेपाल आउन तगारो बनेको अर्को महंगो कोरोना बीमाको व्यवस्था पनि तत्काल हटाउन र कोरोना खोप लगाई आएका पर्यटकलाई सहज रुपमा घुम्न दिनपर्ने उनीहरूको माग छ ।

ताजा अपडेट

नेपालवाच विशेष