NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

पीपीईमा गुम्सिएर १२ घण्टा ड्युटी, आँखैअगाडि बिरामीको मृत्युदेखि संक्रमणको भय

देशमा अहिले कोभिड १९ को दोस्रो लहरको संक्रमण चलिरहेको छ । यसले दैनिक हजारौं मानिसलाई संक्रमित बनाउन थालेको छ । संक्रमण भयावह हुँदै जाँदा अस्पतालहरुमा विरामीहरुको भिड बढ्न थालेको छ । अस्पतालमा शैय्या नपाउनेदेखि जटिल अवस्थाका विरामीलाई दिइने अक्सिजनसम्मको अभाव छ । सरकारले नै बढ्दै गएको संक्रमणलाई मुलुकको स्वास्थ्य प्रणालीले नै थेग्न नसकेको भनिसकेको छ । महामारीले अहिले देश नै बन्दी छ । पूरा र आंशिक गरेर ६१ जिल्लाले निषेधाज्ञा जारी गरिसकेका छन् । मानिसहरु घरबन्दीमा छन् । मानिसहरु घरमा बसेर महामारीबाट जोगिने हरतरहका उपाय अपनाइरहेका बेला स्वास्थ्यकर्मीहरु भने दिनरात नभनी काममा खटिरहेका छन् । जसरी संक्रमित बढ्दै छन् उसैगरी उनीहरुको चाप र व्यस्तता बढ्दै गएको छ । आफैं संक्रमणमा पर्ने त्रासका बीच पनि स्वास्थ्यकर्मीहरु उपचारमा खटिरहेका छन् । १२ घण्टासम्म पिपिईमा गुम्म, शौचालय जानुपर्नाले पानी नै खाँदैनन् नर्स इटहरीस्थित बिराट टिचिङ अस्पतालमा कार्यरत् छिन् सितल पोखरेल । अस्पतालमा उनी कोभिड वार्डमा काम गर्छिन् । आइसोलेसन, आइसियु, भेन्टिलेटर नपाएर विरामी मरिरहेको समाचार देख्नु/सुन्नु पर्दा उनको मन कुँडिन्छ । ‘कोरोना संक्रमितले अस्पतालमा भर्ना नपाएको, शैय्या, आईसियु र भेन्टिलेटर नपाएर विरामीको मृत्यु भएको जस्ता समाचार पढ्दा मन रुन्छ । उनी भन्छिन्, ‘तर, बिरामीको मनोबल नगिरोस भनेर हाँसीहाँसी काम गरिरहेका छौं ।’ अरुका लागि यस्तो समवेदना व्यक्त गर्ने सितलको आफ्नै अवस्था टिठलाग्दो छ । उनी १२ घण्टासम्म विरामीको उपचार र हेरचाहमा खटिन्छिन् त्यो पनि एउटै पिपिईमा गुम्सिएर । कहिलेकाहीं त शौचालय जानसमेत नमिल्ने र नभ्याउने परिस्थिति हुने उनी बताउँछिन् । ‘१२ घण्टे ड्युटीमा दिउँसोको सिफ्ट परेमा खाना खाँदाको समयमामात्रै पिपिई खोलेर शौचालय जान पाइन्छ, रातीको सिफ्टमा त त्यही पनि पाइँदैन । जति गाह्रो भए पनि सहेरै काम गर्नुपर्छ,’ सितल भन्छिन् । एउटा ड्युटीमा एक सेटमात्र पिपिई पाइने भएकाले ड्युटी अवधिभर त्यसमै गुम्सिएर काम गर्नुपर्ने उनी बताउँछिन् । अस्पतालले पर्याप्त पिपिई उपलब्ध नगराउँदा पूरै ड्युटी अवधिभर एउटै पिपिईले काम चलाउनुपर्ने बाध्यता उनी सुनाउँछिन् । आफ्नो कर्तव्य नै विरामीको स्यहार गनुपर्ने भएकाले मनोबल गिर्न नदिन आफैंलाई सम्झाइरहेकी हुन्छिन्, सितल । सितलको जस्तो अनुभव छ, प्युठान अञ्चल अस्पतालमा काम गर्ने अञ्जना क्षेत्रीको पनि । उनी अस्पतालको आइसोलेसन वार्डमा काम गर्छिन् । उक्त वार्डमा तीन जनाले पूरा हप्ताभरीलाई काम गर्नुपर्छ । बिहान र साँझको सिफ्ट ६/६ घण्टाको भए पनि रातीको सिफ्ट भने १२ घण्टाको हुन्छ । जोखिम देखेर उनीसहितका नर्सलाई अस्पतालले छुट्टै विल्डिङमा आवासको व्यवस्था गरिदिएको छ । ‘पिपिई लगाएर बस्दा त्यसै पनि गाह्रो हुन्छ । झन लामो ड्युटी गर्नुपर्दा त सास फेर्नै नसकेको जस्तो हुन्छ,’ उनी १२ घण्टा पिपिई लगाएर काम गर्नुपर्दाको पीडा सुनाउँछिन् । पिपिई लगाएपछि शौचालय जान नपाइने भएका कारण ड्युटी अवधिभर आफू पानी नै नखाने अञ्जना बताउँछिन् । ‘पानी पिउन मन लाग्छ । तर, पानी पिएपछि शौचालय जानुपर्छ । पिपिई लगाएको बेला यो सम्भव हुँदैन । त्यसैले मैले त पानी नै खान कम गरेकी छु,’ उनी भन्छिन् । आँखा अगाडि बोलिरहेको बिरामीको मृत्यु देख्नुपर्दाको पीडा काठमाडौं मेडिकल कलेजमा कार्यरत् स्मृति खड्का अस्पतालमा उपचारका लागि आउने कोभिडका विरामीको अवस्था देख्दा पीडा अनुभूत हुन्छ । सँगसँगै डर पनि । परिवारसँगै बस्ने उनलाई संक्रमित हुने त्रास त छँदैछ, आफू संक्रमित भए परिवारका सदस्यसमेतलाई सर्ने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ । ‘सधैं पोजेटिभ केस हेरिरहने हामी भोलि आफैं पोजेटिभ नभइएला भन्न सकिन्न,’ उनी भन्छिन्, ‘घरमा एक्लै बसेको छैन । आफूसँग परिवारमा पनि संक्रमण पर्‍याउँछु कि भन्ने डर छ ।’ आइसोलेसनमा काम गर्दा विरामीहरुको उपचार र हेरविचारमै समय बिताउनुपर्छ । आइसोलेसनमा भर्ना भएका विरामीको अवस्था आँखैअगाडि छिनछिनमा फेरिरहन्छ । केही बेर अघिसम्म राम्रोसँग बोलिरहेको विरामीलाई एक्कासी आइसोलेसनमा लैजानुपर्ने हुन्छ यी सबै देख्दा मनमा अमिलो महसुस भएपनि स्मृति आफूलाई सम्हाल्छिन् । मनोबल गिर्न नदिन समयसमयमा फेसबुक खोल्छिन्, साथीभाइसँग कुरा गर्छिन् । ‘दिनदिनै विरामीको संख्या बढिरहेको छ । आँखा अगाडि बोलिरहेको बिरामी एकैछिनमा सास फेर्न गाह्रो भएर मरेको पनि देखिन्छ,’ उनी भन्छिन्, ‘यस्तो देख्दा साह्रै नराम्रो लाग्छ ।’ सधैं विरामीको हेरविचार र उपचार गर्नुपर्दा उनीहरु आफ्नै परिवारजस्तो लाग्ने उनी बताउँछिन् । तर, उनीहरु बित्दा परिवारकै कोही सदस्य बितेको जस्तो नमिठो अनुभव उनलाई हुन्छ । काठमाडौंको महाराजगञ्जस्थित कान्ती बाल अस्पतालमा कार्यरत रास्ना शर्माको अनुभव पनि स्मृतिको भन्दा फरक छैन् । अस्पतालले दिने पिपिई सेटको सहायतामा कोरोना नामको अदृश्य दुश्मनसँग लडिरहेकी छिन् उनी । तर, अस्पतालले दिने पिपिई सेटमा पर्याप्त मास्क हुँदैन् । भन्छिन्, ‘सुरक्षाको लागि पिपिई, सेनिटाइजर दिएको छ । तर, मास्क डिस्पोजेबल हुन्छ । पटक–पटक प्रयोग गर्न चाहिँ पर्याप्त हुँदैन ।’ रस्ना कान्ती बाल अस्पतालमा वार्डमै काम गरिरहेकी छिन् । दैनिक ६ घण्टा उनको ड्युटी हुन्छ । कोभिड संक्रमणको पहिलो लहर चल्दा रस्नाको ड्युटी संक्रमितलाई नै हेर्नुपर्ने गरी परेको थियो । त्यतिबेला गम्भीर बिरामीलाई हेर्नुपर्दा निरन्तर घण्टौंसम्म पिपिईमै बस्नुपर्ने बाध्यता थियो । चिकित्सकहरुलाई पर्याप्त पिपिई र सीमित स्रोत साधनमै काम चलाउनु परेको थियो । रस्ना भन्छिन्, ‘धेरै समयसम्म पिपिई लगाएर वार्डमा बस्दा रुन मन लाग्ने अवस्था आउँथ्यो । त्यसमाथि वार्डको व्यवस्थापन पनि राम्रो थिएन ।’ पछिल्ला दिनहरुमा उनले पहिलेको जस्तो महसुस गरेकी छैनन् । विरामीसँग घुलमिल हुन थालेपछि आफूलाई केही आश्वासन पनि पाएकी छिन् । तर, अस्पतालले आइसोलेसनमा काम गरेका कर्मचारीको जिम्मेवारी लिनुपर्नेमा त्यो भने नभएको उनी बताउँछिन् । भन्छिन्, ‘हामी आइसोलेसनमा काम गरेर घरमै आउँथ्यौं । आफूसँगै परिवार पनि जोखिममा परेको थियो । अस्पतालले यो कुराको ख्याल गरेको थिएन ।’ आइसोलेसनमा काम गर्दागर्दै रस्नाकै सहकर्मीलाई संक्रमण पुष्टि भएको थियो । उनले साथीको समेत ड्युटी पुरा गरेकी थिइन् । तर, त्यति गर्दा पनि न अस्पताल न सरकारले नै उनीहरुलाई प्रोत्साहित गर्‍यो । रस्ना गुनासो गर्दै भन्छिन्, ‘काम पर्दा यस्तै अवस्था आयो भनेर काम गराउनु भयो । तर, हामीलाई प्रोत्साहन गर्ने कुरामा केही भएन् । त्यो सम्झिदाँ पनि दुःख लाग्छ ।’ यसपटक भने केही सहजता महसुस गरेकी छिन् रस्नाले । अघिल्लो पटकजस्तो सीमित पिपिई वा स्वास्थ्य सामग्रीमा काम गर्न परेको छैन् । उनी भन्छिन्, ‘अहिले बच्चाहरुसँगै आमाबुबा पनि हुन्छन् । हामीले डाइपर लगाएर बस्नुपर्ने अवस्था पनि छैन् । पर्याप्त पिपिई छ अहिले । रातीको सिफ्टमा पिपिई परिवर्तन गरेर काम गरिरहेका छौं । तर, डर त अहिले पनि छ ।’ जोखिममा काम, तर छैन जोखिम भत्ता जोखिमाबीच काम गरिरहेका स्वास्थ्यकर्मीलाई सरकारले जोखिम भत्ता दिने आश्वासन दिएको थियो, गत वर्ष नै । तर, अहिले पनि खटिरहेका स्वास्थ्यकर्मीहरुले पहिलो लहरमै काम गर्दाको जोखिम भत्ता समेत पाएका छैनन् । काठमाडौं मेडिकल कलेजमा कार्यरत स्मृति भन्छिन्, ‘अहिलेसम्म पाएको छैन, तर पाइएला कि भन्ने आश भने छ ।’ जोखिम भत्ता त परको कुरा सरकारले दिने भनेको अन्य सेवा सुविधा पनि नपाएको गुनासो गर्छिन् उनी । भन्छिन्, ‘कोभिडमा काम गरेपछि तलवको ५० प्रतिशत अतिरिक्त सेवा सुविधा दिने भनेको छ । तर, दिएको छैन् ।’ कान्ति बाल अस्पतालमा कार्यरत रस्ना पनि आफूले कोरोना महामारीको पहिलो लहरमा काम गर्दा मासिक तलव बराबरको जोखिम नपाएको बताउँछिन् । भन्छिन्, ‘ड्युटी गरेको भनेर दिएको थियो । तर, एक महिनाको तलब जति पनि थिएन् ।’ अस्पताल प्रशासनलाई यसबारे सोध्दा मन्त्रालयले नै नपठाएको जवाफ पाउँछिन उनी । रस्ना भन्छिन्, ‘आउँछ भन्नुहुन्छ । तर, अब त आउँछ र पाइएलान भन्ने आश पनि मरिसक्यो । यस्तो महामारीमा भत्ताको लागि होइन, बिरामीको लागि काम गरेका छौं भन्ने सोचेर खटिरहेका छौं ।’ यता इटहरीस्थित बिराट टिचिङ अस्पतालमा कार्यरत् सितलको अनुभव पनि उस्तै छ । पटक–पटक सोध्दा पनि अस्पताल प्रशासनले वास्ता नगरेपछि अस्पतालमा कार्यरत नर्सहरुले कुरा गर्नै बन्द गरेका छन् । सितल भन्छिन्, ‘हामीलाइ आईसियुको दैनिक एक हजार आठ सय र वार्डको एक हजार पाँच सय दिएको छ । त्यो बाहेक यस्तो बेला खटेको भत्ता केही दिएको छैन । कुरा गर्दा पनि हाम्रो वास्ता छैन ।’ अञ्जनाले पनि महामारीमा खटेबापतको जोखिम भत्ता पाएकी छैनन् । अघिल्लो वर्ष प्युठानमा धेरै संक्रमित नभएकाले मन्त्रालयले रकम नपठाएको जवाफ पाएको उनी बताउँछिन् । ‘यसपटक भने अस्पताल प्रशासनले तलवको ५० प्रतिशत जोखिम भत्ता दिने भनेको छ ।’ उनी भन्छिन् । तर, पनि कामप्रति गर्व गर्छन् नर्सहरु महामारीको जोखिमकाबीच संक्रमितको उपचारमा दिनरात खट्नुपर्दा र कामअनुसारको सेवासुविधा नपाउँदा पनि स्वास्थ्यकर्मीहरुले आफ्नो ड्युटी पूरा गरिरहेका छन् । यस्तो महामारीमा विरामीको उपचार गर्न पाउनुलाई उनीहरु जिम्मेवारीसँगै गर्व पनि ठान्छन् । महामारी नियन्त्रण र उपचारका लागि खटिरहँदा गर्व महसुस गरेकी छिन् सितलले । यस्तो बेला आफ्नो पेसाप्रति नै उनलाई सन्तुष्टि भाव मिलेको छ । ‘यो समयमा मलाई आफू नर्स भएकोमा गर्व महसुस भएको छ ।’ उनी भन्छिन् । तलव र सेवासुविधा कम भए पनि अरुलाई सहयोग र हेरचाह गर्न पाउँदा मनमा शान्ति मिलेको उनी बताउँछिन् । संक्रमितको उपचारमा खट्दा आफैं संक्रमित भइने त्रासका बीच पनि काममा खटिरहेकी छिन् स्मृति । महामारीमा काम नगर्न उनलाई परिवारले नभनेको पनि होइन, तर उनको मनले मानेन् । परिवारको असहमतिकाबीच पनि उनी काममा खटिरहेकी छिन् । उनी भन्छिन्, ‘आमाले आफ्नो गहना बेचेर नर्स पढाउनु भएको हो । अहिले यस्तो महामारी आयो, जसोतसो गाउँमै गरौंला घर आइज भन्नुहुन्छ । तर, मेरो मनले मान्दैन । हामीले नै हरेस खायौं भने अरुलाइ के होला जस्तो लाग्छ ।’