NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

भक्तपुर नगरपालिकामा १६ हजारले भेरोसेल खोपको दोस्रो मात्रा लगाए

भक्तपुर नगरपालिकामा कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउनेको सङ्ख्या १६ हजार ५२ पुगेको छ । नगरका सबै वडामा आवश्यक जनशक्ति र स्वयंसेवक परिचालन गरी यही जेठ ५ गतेदेखि १८ गतेसम्म स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खोप प्रदान गरिएको जनस्वास्थ्य केन्द्र इन्चार्ज डा रत्नसुन्दर लासिवाले बताए। नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रले भेरोसेलको पहिलो मात्रा गत वैशाख ४ गतेदेखि १५ गतेसम्म जनस्वास्थ्य केन्द्र च्याम्हासिंह, इवामुरा अस्पताल र सिद्धिस्मृति अस्पतालमा दिएको थियो । पहिलो मात्रा लगाएका सबैलाई अहिले दोस्रो खोप लगाइएको हो । ‘जेठ ५ गतेदेखि १७ गतेसम्म सबै वडा कार्यालयको संयोजनमा वडाका निर्धारित स्थानहरुमा खोप लगाइएको थियो,’ डा लासिवाले भने, ‘जेठ १८ र १९ गते यसअघि भेरोसेलको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन छुट भएका सबैलाई वडा–१० कार्यालय भवनपछाडि नगरपालिकाको बक्सिङ प्रशिक्षण हलमा दिएका छौँ ।’ नगरपालिकाले भेरोसेलको पहिलो मात्रा २१ हजार ७२१ जनालाई र कोभिशिल्डको दोस्रो मात्रा दुई हजार ४३९ लाई दिइसकेको छ।