NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

बर्खामा सडक खन्न नपाइने, अटेरी गरे कारबाही

बर्खाका बेला जथाभावी सडक खन्न प्रतिबन्ध लगाइने भएको छ । बर्खामा सडक खन्ने प्रवृत्ति बढेसँगै असार १ बाट उक्त कार्य गर्न रोक लगाइने भएको हो । सडक विभागअन्तर्गत संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै सडक खन्न रोक लगाएको हो । नियम नमानेको पाइए कारबाही गर्ने सूचनामा उल्लेख छ । बर्खायाममा धारा, ढल, बिजुली र टेलिफोन प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मतसम्भार गरी यथास्थितिमा ल्याउन नसकिने जनाइएको छ । यस्तो अवस्थामा सडक थप बिग्रँदै जाने भएकाले असारदेखि भदौ मसान्तसम्म कार्यालयअन्तर्गत सडक डिभिजन मातहत रहेका कुनै पनि सडक खन्न स्वीकृति नदिइने सूचनामा भनिएको छ । कसैले जबर्जस्ती खनेको पाइए सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिनेछ । उपत्यकाका ठाउँठाउँमा नयाँ कालोपत्रे सडकसमेत खनेर खाल्डैखाल्डा बनाइएको छ । ती खाल्डा समयमै मर्मत गर्न नसक्दा पानी जम्ने र हिलोले सडक फोहोर बन्ने गरेको छ । बर्खामा सधैं सडक खन्ने काम बन्द गर्ने गरिएको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय प्रमुख कैलाश श्रेष्ठले बताए । ‘खानेपानीलगायत निकायले होल परिवर्तन गर्ने, नयाँ पाइप जोड्न सडक खन्न स्वीकृति माग्ने गरेका छन्,’ उनले भने, ‘अब भने त्यस्तो काममा सूचना निकालेरै रोक लगाइएको हो ।’ कान्तिपुर दैनिकमा खबर छ।

ताजा अपडेट

नेपालवाच विशेष