स्रोत नखुलेको ११ लाख सहित गंगा थापा पक्राउ

काठमाडौ । राजश्व छलीमा संलग्न रहेको आरोपमा महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ । भन्सार छली चोरी निकासी गरी सुनको कारोबार गरेको सूचनाका आधारमा प्रहरीले सिनामंगल र कोटेश्वरबाट उनीहरुलाई पक्राउ गरेको हो । शुक्रबार सिनामंगलस्थित गोल्डेन गेट अगाडिबाट रामेछापका गंगाबहादुर थापा मगरलाई पक्राउ गरिएको छ । उनको बयानका आधारमा आइतबार कोटेश्वरबाट कुमार सेन्चुरी पक्राउ परेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए । उनीहरुलाई थप कारबाहीका लागि आजै राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ । सिनामंगलमा शंकास्पद अवस्थामा फेला परेका थापाको झोला जाँच गर्दा स्रोत नखुलेको ११ लाख ८६ हजार फेला पारेको प्रहरीले जनाएको छ । उनीमाथिको अनुसन्धानका क्रममा भन्सार छलेर सुनको बाला ल्याई कोटेश्वरमा रहेको स्काई ज्वलेर्स सञ्चालक सेन्चुरीलाई बिक्री गर्ने गरेको खुलेपछि ज्वेलर्समा पुगेको प्रहरी टोलीले तीन थान सुनको बालासहित उनलाई पनि पक्राउ गरेको हो ।
प्रतिक्रिया