NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

आजका ‘गुड न्युज’ : मुलुकभर चार सय आधारभूत अस्पताल निर्माण शुरु

काठमाडाैं । आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू संप्रसित भए । त्यसमध्ये अधिकांश नकारात्मक सन्देश बोकेका समाचारहरू थिए । नकारात्मक खबरको बाढीका बीच केही सकारात्मक सन्देशहरू पनि संप्रसित भएका छन् । नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ, ताकि नकारात्मक समाचार पढेर आजित पाठकलाई केही राहत मिलोस् । – मुलुकभर एकैपटक ३ सय ९६ आधारभूत अस्पतालको शिलान्यास सरकारले देशभर एकैपटक ३ सय ९६ आधारभूत अस्पताल निर्माण कार्य सुरु गरेको छ । सरकारले सातै प्रदेशका सात सय ५३ स्थानीय तहलाई समेटेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५, १० र १५ शय्याका अस्पताल निर्माणको थालनी गरेको हो । कुल ५८ अर्ब रुपैयाँ लागतका ती अस्पताल यही आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । – पुस १ देखि पशुपतिनाथ मन्दिर खुुला गरिने आउँदो १ पुसदेखि भक्तजनका लागि पशुपतिनाथ मन्दिर खुला गरिने भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गर्दै मन्दिर खोल्ने निर्णय भएको पशुपति विकास कोषले जनाएको छ । मन्दिर जाने भक्तजनले पालना गर्नुपर्ने मापदण्ड पनि कोषले तयार पारिसकेको छ । सुरक्षाका लागि भक्तजनलाई एउटा ढोकाबाट प्रवेश गराइ अर्कोबाट निकाल्ने गरी व्यवस्था मिलाइनेछ । – बीपी प्रतिष्ठानमा प्रशिक्षार्थी डाक्टरको भत्ता बढाउने सहमति धरानस्थित बीपी कोेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत प्रशिक्षार्थी डाक्टर र व्यवस्थापनबीच सोमबार ११ बुँदे सहमति भएसँगै आन्दोलन फिर्ता भको छ । प्रशिक्षार्थीहरूलाई प्रतिष्ठानले जीवन निर्वाह भत्ताका रूपमा मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो । वार्तापछि १८ हजार ५ सय रुपैयाँ दिने सहमति भएसँगै उनीहरूले आन्दोलन फिर्ता लिएका ।