अब कांग्रेस नबोले देश खोक्रो हुन्छ : महर

बुटवल । कांग्रेसका युवा नेता नैनसिंह महरले नेकपाले नेपाली जनतालाई गम्भीर धोका दिएको आरोप लगाएका छन् । नागरिक संकटमा रहेका बेला नेकपा नेतृत्व र सरकार शक्त्तिकै अभ्यासमा तल्लिन रहेको बताउँदै नेता महरले जनताको दुखलाई हदैसम्मको नजरअन्दाज गरिएको ठोकुवा गरे । ‘कोरोना महामारीले मुलुकको अर्थतन्त्र र नागरिकको ज्यान खतरामा छ’ नेता महरले भने ‘सरकार के गर्दैछ, सत्तारुढ दल के गर्दैछ ?’ नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष समेत रहेका महरले केपी शर्मा ओली नेतृत्वको सरकारको अयोग्यताका कारण देशभरका युवाहरु नैराश्यता छाएको बताए । बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले सरकारका कुकृत्यले युवाहरु डिप्रेशनमा जाने अवस्था आएको बताए । अब युवाहरुलाई नयाँ आशा र नयाँ भरोसा दिलाउनुपर्ने र त्यसको नेतृत्व प्रतिपक्ष कांग्रेसले गर्नुपर्नेमा नेता महरले जो दिए । उनले पार्टीको आसन्न महाधिवेसनमा युवालाई स्थानीय स्तरदेखि केन्द्रसम्म नै स्थान दिएर कांग्रेसले उदाहरण पेश गर्नुपर्ने समेत बताए । युवा देशको विकास र समृद्धिको मुहान भएकाे भन्दै नेता महरले भने, ‘जुन देशमा युवा जागेका छन, विकृति, विसंगति, अन्याय, अत्याचारका विरुद्ध आवाज वुलन्द गर्दै सडकमा उत्रिएका छन त्यो देशमा जस्तोसुकै तानाशाहको सत्ता सखाप भएको छ ।’ नेता महरले सरकार भ्रष्ट्राचारको आहलमा डुबेको बताउँदै युवाहरुले यसका विरुद्ध लाग्ने बेला भएकाे बताए । देशमा लुट मच्चाउने काम भइरहेको महरले भने अब हामी बोल्ने होइन भने देश नै खोक्रो हुन्छ । कु-व्यस्थाका विरुद्ध नबोल्नु पनि सचेत नागरिकको गैरजिम्मेवारीपन भएको नेता महरको जिकिर छ ।
प्रतिक्रिया