भारतमा देखियो रहस्यमयी रोग, विरामीको रगतमा भेटियो सिसा

कोरोना महामारीकाबीच भारतको आन्ध्र प्रदेशमा भर्ना भएका विरामीहरुको रगतमा ‘लिड तथा निकल’ (सिसा) जस्ता तत्व पाइएको भारतीय स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स, राज्य तथा केन्द्रिय संस्थानको विशेषज्ञ टोलीले गरेको रगतको नमुना परीक्षणबाट आएको नतिजाको आधारमा विरामीको रगतमा लिड तथा निकल जस्ता भारी तत्व पाइएको अधिकारीले बताएका हुन् । भारतको आन्ध प्र्रदेशको एलुरु शहरमा मंगलबार फैलिएको रहस्मयी रोगका कारण हालसम्म पाँच भन्दा बढी मानिस विरामी भइसकेका छन् । शनिवार रातीदेखि मानिसहरुमा छिनमा बेहाश हुने र छिनमा होस आउने छारे रोगको जस्तो लक्षण देखिने, डर लाग्ने, वान्ता हुने, ढाड दुख्ने जस्ता समस्या देखिएको थियो । सोही समस्याका कारण अस्पताल भर्ती हुने विरामीको संख्यामा वृद्धि भएपछि त्यहाँका स्वास्थ्य अधिकारीहरुद्धारा विरामीको रगतको नमुना परीक्षण गरिएको थियो । नमुना परीक्षणका क्रममा विरामीको रगतमा लिड तथा निकलको अवशेष भेटिएको अधिकारीहरुले बताएका छन् । आन्ध्र प्रदेशका स्वास्थ्य राज्यमन्त्री ए के कृष्णा श्रीनिवासका अनुसार यस रोगबाट संक्रमित ५ सय १० मध्ये चार सय ३० जनालाई अस्पतालले डिस्चार्ज गरिसकेको छ भने रोगका कारण हालसम्म कसैको मृत्यु भएको छैन । अखिल भारतीय आर्युर्विज्ञान संस्थान (एम्स), दिल्लीको टीमले यस रहस्यमय रोगको जाँच गरेका थिए भने राष्ट्रिय पोषण संस्थान (एनआईएम)को टिमले पानी, खाने तेल तथा चामलको नमुना संकलन गरेको थियो । जाँचको प्रारम्भिक नतिजामा विरामीहरुको रगतमा सिसा फेला परेको हो । एनआईएनका एक वैज्ञानिकले भने, ‘यदि यो पानी वा वायुसित सम्बन्धित हुन्थ्यो भने एक विशेष क्षेत्रको मानिसमात्र प्रभावित हुन्थे । यस रहस्यमयी रोगबाट लगभग पूरा एलेरु शहर नै प्रभावित छ । धेरैजस्तो अवस्थामा परिवारका एक सदस्यमात्र प्रभावित भएको पाइएको छ । जुन आश्चर्यजनक छ ।’ एलेरुका सरकारी अस्पतालका चिकित्सक डा. ए एस रामले अधिकांश विरामीमा छारे रोगमा जस्तो लक्षण परेको बताए । केहीले भने टाउकोमा सामान्य चोट लागेको, आँखामा कालोपन जस्ता लक्षण भएको बताएका थिए । केही भने अचानकै बेहोश भएका थिए । केहीले भने छारे रोगको दौरा पश्चात्त ग्याष्ट्रिक भएको तथा पेट दुखेको बताएका थिए । डाक्टर रामले बताए अनुसार हाल विरामीको संख्यामा कमी आइरहेको छ । उनले भने,‘मंगलबारका दिन धेरै विरामी आएनन् । अब डिस्चार्ज हुनेको संख्या पनि बढिरहेको छ ।दुई –तीन घण्टाभित्रमै विरामीहरुले घर जान पाइरहेका छन् । ’ यसैबीच, मुख्यमन्त्री वाई एस जगन मोहन रेड्डीले विरामीको रगतमा पाइएको लिड र निकल प्रभावित क्षेत्र तथा मानव शरीरमा कसरी पुग्यो भन्ने विषयमा जाँच गर्न आदेश दिएका छन् ।
प्रतिक्रिया