NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

काभ्रेमा प्रचण्डका कार्यकर्ताले तोडफोड गरेपछि गोकुल बास्कोटाले भने जंगली हर्कत सफल हुनेछैन

काभ्रे । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी गए राति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ । गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने आजको कार्यक्रमका लागि त्यहाँ गएका नेता बास बसेको घर नजिकै रोकिराखिएको बा१५च ७८२१ नम्बरको गाडी तोडफोड भएको हो । करिब एक दर्जन मोटरसाइकलमा आएको समूहले नेता बास बसेको नेकपाका जिल्ला सदस्य शिव गौतमको घर नजिकै पार्किङ गर्ने क्रममा राति १०ः३० बजे गाडी तोडफोड गर्न शुरु गरेको थियो । गौतमका अनुसार चालकले पार्किङ गर्न नपाउँदै गाडी छोडेर भागेका थिए । ‘पेट्रोल झिक आगो लगाउनुपर्छ भन्दै सोही गाडीबाट पेट्रोल निकाल्ने प्रयास गर्दा नेता र स्थानीयवासी प्रतिकारमा उत्रन थालेपछि उक्त समूह भागेको थियो’, गौतमले भने । केन्द्रीय सदस्यहरू आइतबार चौँरीदेउरालीकै धुसेनीमा कार्यक्रम गरेर नेता गौतमको घरमा बास बसेका थिए । उक्त घरमा नेकपाका केन्द्रीय सदस्यत्रय चूडामणि गौतम, रीता ढकाल र प्रकाश गौतम तथा जिल्ला नेता लेखराज गौतम, इन्द्रबहादुर तामाङलगायतको १६ जनाको टोली बास बसेको थियो । उक्त आक्रमणकारी समूहले अर्को स्थान बिरुवामा समेत नेता बास बसेको तिलक गौतमको घरअघि राति पटकपटक मोटरसाइकल घार्रघुर्र पारेर धम्कीको आभाष दिलाएको नेता गौतमले बताए । उनका अनुसार चौँरीदेउरालीमा कुनै पनि कार्यक्रम नगर्न दाहाल–नेपाल समूहका नेताले धम्की दिइरहेका थिए । ‘हाम्रो रगत बगेको ठाउँमा अरु कसैले कार्यक्रम गर्न पाउँदैन’ भन्दै धम्कीपूर्ण भाषामा दाहाल–नेपाल समूहका स्थानीय जनप्रतिनिधि एवं नेताले आफूहरुलाई धम्क्याउँदै आएको नेता गौतमले बताए । उनका अनुसार गाउँपालिका अध्यक्ष दीननाथ गौतम र स्थानीय नेता मुकुन्द गौतमले जिल्ला नेता इन्द्रबहादुर तामाङलाई समेत सोही भाषामा पटकपटक धम्की दिँदै आएका छन् । पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले आक्रमणकारीलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् । ‘हाम्रो सङगठन विस्तारमा चौरीदेउराली पुगेको नेताहरुको गाडी भर्खरै मार्चण्ड समूहले तोडफोड गरेको छ र केहीबाईकहरुले छापामारशैलीमा बास बसेको घरमा आक्रमण गर्ने जंगली हर्कत गरिरहेकोछ। जनमत कटेपछि गरिने यस्तो हर्कत सफल हुने छैन।आक्रमणमा सामेलहरु कानुनी दायराबाट भाग्न सक्ने छैनन्।आततायीप्रति जति खेद व्यक्त गरेपनि अपूग हुन्छ।नाङलो नठटाउन भन्छु, हामी समना गर्छौ भाग्दैनौं।’ राती घटना भएलगत्तै बास्कोटाले फेसबुकमा लेखेका थिए । कोशीपूर्वस्थित उक्त गाउँपालिकामा नेकपाले सङ्गठन विस्तार गरिरहेको अवस्थामा कार्यक्रम नगर्न केही हप्ता अघिदेखिनै धम्की आइरहेको चौँरीदेउराली गाउँपालिका निवासी एवं युवा सङ्घका जिल्ला संयोजक विक्रम चौलागाईंले बताए । उनका अनुसार गाउँपालिकाको कात्तिकेदेउराली र विर्तादेउरालीमा कार्यक्रम नगर्न र गरे आक्रमण हुने धम्की दिएका थिए । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पवनकुमार झाले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

ताजा अपडेट

नेपालवाच विशेष