संसद पुनःस्थापना पछि कसले के भने ?

काठमाडौँ – सर्वोच्च अदालतले प्रतिनिधि सभा पुर्नस्थापना गरेपछि खुशीयाली छाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाका नेता–कार्यकर्ता बाहेक सबै दल, नागरिक समाज र सर्वसाधारणले सर्वोच्चको फैसलामा खुशी व्यक्त गरेका छन् । विशेषगरि प्रचण्ड–नेपाल पक्षले बढी उत्साहित भएर प्रतिक्रिया दिएका छन् । हेरौँ कसले के भने अग्नी सापकोटा, सभामुखप्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जीत भएको प्रतिक्रिया दिएका छन् । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गर्ने सर्वोच्चको फैसलाले राज्यका महत्वपुर्ण अंगहरूको शक्ति पृथकिकरण र भूमिकालाई फैसलाले स्पष्ट मार्ग निर्देश गरेको उनको टिप्पणी छ। प्रचण्ड, नेकपा अध्यक्ष नेकपाका अध्यक्ष प्रचण्डले सर्वोच्चको फैसलालाई ऐतिहासिक भनेका छन् । उनले संसद पुनःस्थापना गर्न आदेश दिएसँगै केपी शर्मा ओलीलाई राजीनामा दिन भनेका छन् । प्रचण्डले भनेका छन्, ‘यदी तपाईंमा अलिकति पनि लाज बाँकी छ भने, अलिकति घिन र नैतिकता बाँकी छ भने राजीनामा दिनुस ।’ उनले ओलीपक्षका सांसदहरूलाई आफ्नो पक्षमा आउन समेत आग्रह गरेका छन् । माधव कुमार नेपाल – नेता नेकपा प्रचण्ड–नेपाल पक्षीय नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक र जनताको जीत भनेका छन् । फैसलासँगै नेता नेपालले फेसबुकमा स्टाटस लेख्दै अदालतले संवैधानिक अपेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएको लेखेका छन् । उनले लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गरेका छन् । विष्णु पौडेल : अर्थमन्त्री अर्थमन्त्री विष्णु पौडेलले सर्वोच्च अदालतले गरेको निर्णयलाई सम्मान र पालना गरिने बताएका छन् । अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको निर्णय गरेपछि पौडेलले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरी चाँडै निष्कर्षमा पुग्ने बताए। पौडेलले संविधानले सर्वोच्च अदालतलाई संविधानको अन्तिम व्याख्याता मानेको हुनाले अदालतबाट आउने निर्णयलाई पालना गर्नुपर्ने दायित्व आफूहरूसँग रहेको बताए। गोकुल बाँस्कोटा, नेता नेकपा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र गोकुल बाँस्कोटाले राजनीतिले संसदमा असर गरेको तर संविधान कुनै असर नगरेको लेखेका छन् । उनले यस्तो गोलचक्कर चलिरहने समेत लेखेका छन् ।फेसबुकमा स्टाटसमार्फत उनले लेखेको छन्, ‘…राजनीति आ–आफ्नै तालसुरमा चलिरहन्छ । के को दिपावली के को रुवाबासी ? बाँकी हेर्दै जाने हो ।’ प्रदीप ज्ञावली : परराष्ट्र मन्त्री परराष्ट्रमन्त्री तथा ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसललाई सम्मान गर्ने बताएका छन् । उनले सवोच्चको फैसला अपेक्षा विपरित भएपनि सम्मान गर्ने बताए । रामकुमारी झाँक्री : नेतृ, प्रचण्ड समूहको नेकपा नेतृ रामकुमारी झाँक्रीले फैसललाले स्वेच्छाचारी तानाशाही कदमको अन्त्य गरेको बताएकी छिन्‘स्वेच्छाचारी शासकको असंवैधानिक कदम सच्चाउन, लोकतन्त्र र संविधानको रक्षाका लागि संसद पुनस्र्थापना अनिवार्य थियो’, उनले भनेकी छिन्, ‘यो पुनस्र्थापना ले स्वच्छाचारी तानाशाही कदमको अन्त्य सँगै समग्र जनताको सम्मान गरेको छ ।’ शेरबहादुर देउवा : कांग्रेस सभापति सभापति शेरबहादुर देउवाले अदालतको फैसलालाई सम्मान गर्ने बताएका छन । सभा विघटनको बदर गर्ने अदालतको फैसला आएपछि विज्ञप्ति जारी गर्दै देउवाले फैसलाको स्वागत गरेका हुन । रामचन्द्र पौडेल, वरिष्ठ नेता, कांग्रेस कांग्रेस नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन बदरको फैसला सत्यमाथि जित भएको प्रतिक्रिया दिएका छन् । ‘मैले भन्दै आएको हुँ सत्यभन्दा माथि शासक हुन सक्दैन ।’ उनले संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य रहेको भन्दै यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको भनेका छन् । विश्वप्रकाश शर्मा : प्रवक्ता कांग्रेस शर्माले प्रतिनिधिसभा पुनःस्थापना गरेकोमा सर्वोच्च अदालतका न्यायमूर्तिहरूलाई सलाम भनेका छन । प्रतिनिधिसभा विघटनलाई अदालतले बदर गरेपछि प्रवक्ता शर्माले ट्वीट गर्दै यस्तो बताएका हुन। कृष्णप्रसाद सिटौला : नेता, नेपाली कांग्रेस कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गर्नुले आम नागरिकमा अदालतप्रति आशा र विश्वास बढेको टिप्पणी गरेका छन् । ‘संविधानको प्रस्तावनामा नै न्यायपालिका स्वतन्त्र, निष्पक्ष हुन्छ भनिएको छ । अदालतको यो यो फैसलाले अदालतप्रति गरिने अपेक्षा प्रमाणित भएको छ’ सिटौलाको टिप्पणी छ । उनले फैसलाले संविधानको रक्षा, लोकतन्त्रको रक्षा, शासनपद्धतिको रक्षा भएको भनेका छन् । यस्तै उनले अधिनायकवाद, निरंकुशता सर्वसत्तावादी चरित्रलाई रोक लगाएको भनेका छन् । यो निर्णयले आम नेपाली जनताको अधिकारको रक्षा गरेको समेत उल्लेख गरेका छन् । गगन थापा : नेता, नेपाली कांग्रेस गगन थापाले संसद विघटन बदर भएकोमा सबैलाई बधाई भनेका छन् । उनले अदालतले विना भय र दवाव, विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउँदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको बताएका छन् । बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले संसद पुनःस्थापनाको खबरले अत्यन्तै उत्साहित भएको बताएका छन् । भारतमा उपचार गराइरहेका भट्टराईले ट्वीट गर्दै भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको टिप्पणी गरेका छन् । उपेन्द्र यादव :अध्यक्ष, जनता समाजवादी पाटी जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको बताएका छन् । अदालतको फैसलाले मुलुक ठूलो राजनीतिक दुर्घटनाबाट जोगिएको बताउँदै उनले भने, ‘सर्वाेच्चको फैसला संविधानवाद र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छ ।’
ताजा अपडेट
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
-
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
प्रतिक्रिया