नेपाल भाषा पठनपाठनका लागि काठमाडौं महानगरले १७२ शिक्षक नियुक्त गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन १७२ नयाँ शिक्षक नियुक्ति गर्ने तयारी गरेको छ । संवैधानिक व्यवस्थाअनुरुप अनिवार्यरूपमा १०० नम्बरको एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । सोहीअनुरुप कामपाले स्थानीय भाषा पठनपाठनका लागि नयाँ शिक्षक राख्ने तयारी थालेको हो । सामुदायिक र संस्थागत दुवै विद्यालयका लागि पाठ्यपुस्तक तयार गरेको भए पनि हाल सामुदायिक विद्यालयका लागि मात्रै अनिवार्यरूपमा लागू गरिने भएकाले शिक्षक पनि सोहीअनुरुप राखिने छ । कामपा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीका अनुसार १७२ जना शिक्षक कामपाले आफ्नै स्रोत साधनबाट राख्न लागेको हो । यसका लागि कामपाले विज्ञापन आह्वान गरिसकेको छ । यसरी राखिने शिक्षक सेवा करारअन्तर्गत नियुक्त गर्ने र हरेक एक वर्ष समयावधि थप गर्ने व्यवस्था रहने छ । आगामी शैशिकसत्रदेखि अनिवार्यरूपमा लागू गर्न लागिएको यो विषय पठनपाठन गराउनका लागि हरेक सामुदायिक विद्यालयका कम्तीमा एक, विद्यार्थी सङ्ख्या र आवश्यकता हेरी तीन जनासम्म शिक्षक राख्ने कामपाको तयारी छ । नेपालमा लिच्छवीकालबाटै नेपाल भाषाकोे प्रयोग हुन थालेको भए पनि मल्लकालमा यस भाषालाई राजकीय भाषाका रूपमा प्रयोग गरिएको नेपाल भाषा केन्द्रीय विभागका प्राध्यापक शरदवीर कंशाकार बताउछन् । पछिल्लो समय काठमाडौँ उपत्यकाको तीनवटै जिल्ला र वाग्मती प्रदेशका १२ जिल्लामा यस भाषाको प्रयोग हुने गरेको प्राध्यापक कंशाकारको भनाइ छ । कामपाले स्थानीय पाठ्यपुस्तक नै बनाएर अनिवार्यरूपमा पठनपाठनको तयारी गर्नु उल्लेखनीय काम भएको उनको भनाइ छ । पठनपाठनमा यस विषयलाई छनोट गर्नुले नेवार समुदायमा रहेका संस्कार, संकृतिका बारेमा जानकारी लिन नयाँ पुस्तालाई ठूलो सयोग पुग्ने प्राध्यापक कंशाकारले बताए।रासस
ताजा अपडेट
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
-
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
प्रतिक्रिया