NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

प्रचण्ड–नेपाल समूहले भन्यो : राजीनामा दिएर माफी मागे ओलीसँग पार्टी एकताको ढोका खुल्छ

काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल समूहको स्थायी समिति बैठकले पार्टी एकता र संविधानलाई जोगाउन खोज्दा प्रधानमन्त्री केपी ओलीले नै एकता भाँडेको निष्कर्ष निकालेको छ । पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले गुट र फुटमा रमाउने ओलीकै कारण तत्काल ओलीसँग पार्टी एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिए । ‘पार्टी एकता र संविधानलाई जोगाउन खोज्दा प्रधानमन्त्री ओलीले पार्टी एकता भाँडेको हाम्रो निष्कर्ष हो । गुट र फुटमा रमाउने र संविधानलाई नै मास्न खोज्ने कारणले गर्दा तत्काल ओलीसँग पार्टी एकताको सम्भावना नरहेको हाम्रो ठहर छ’ बैठकपछि श्रेष्ठले भने, ‘ओलीसँग पार्टी हुनका लागि तत्काल प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ । विगतमा चालेको कदममा क्षमायाचना गरेर मात्रै पार्टी एकताको ढोका खुल्नेछ ।’ बैठकले प्रधानमन्त्रीको प्रतिगमनविरुद्ध सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको निष्कर्ष पनि स्थायी समितिले निकालेको छ । संविधान र लोकतत्रको रक्षा गर्न आगामी दिनमा पनि सचेत भइरहुपर्ने भन्दै स्थायी समितिले प्रतिनिधिसभा पुनस्थापना गर्ने अदालतको फैसलाको उच्च मूल्यांकन गरेको जनाएको छ । ओलीले चालेको कदमपछि प्रतिगमनविरुद्ध आन्दोलनमा सहयोग गर्ने, दल नागरिक समाज, पेशागत संगठनसहितका पक्षलाई उनीहरुले धन्यवाद भनेका छन् । अब संविधानलाई कार्यान्वयन गर्दै सुशासन र विकासको बाटोमा अघि बढ्ने उनीहरुको भनाई छ । स्थायी समितिको बैठकपछि नेताहरु संसदीय दलको बैठकमा जुटेका छन् । मंगलबार सर्वोच्चले फैसलाको १३ दिनभित्रै प्रतिनिधिसभाको बैठक डाक्न आदेश दिएपछि नेकपाको संसदीय दल अब कसरी अगाडि बढ्छ भन्ने विषयलाई चासोपूर्वक हेरिएको छ । नेकपामा अहिलेसम्म एउटै संसदीय दल छ । तर, नेताहरु सांसदहरु प्रचण्ड र ओलीको पक्षमा बाँडिएका छन् । आगामी संसद बैठकमा अब उनीहरुले कसरी भाग लिन्छन् भन्ने विषय निक्कै महत्वपूर्ण मानिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष