NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ११ गते

अख्तियारले पछ्याएपछि फरार गाउँपालिका अध्यक्ष क्षेत्री केपी ओली पक्षका नेता

काठमाडौँ । घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले पछ्याएपछि फरार धनुषास्थित बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री यसअघि पनि घुसजन्य गतिविधीमा संलग्न हुने गरेको त्यहाँकै जनप्रतिनिधीहरुले जनाएका छन् । गाउँपालिकाका अध्यक्ष राउत क्षेत्री आठ लाख रुपैयाँ घुस रकम बाटोमै छोडेर फरार भएको समाचार सार्वजनिक भएपछि त्यहाँका अन्य जनप्रतिनिधीहरुले त्यस्तो बताएका छन् । गाउँपालिका अध्यक्ष क्षेत्री र उपाध्यक्ष प्रमीला देवी दुवै तत्कालिन नेकपा एमालेको तर्फबाट स्थानीय तहमा निर्वाचित भएका हुन् । घुस रकम छाडेर फरार गाउँपालिका अध्यक्ष राउत क्षेत्री नेकपाको आन्तरिक विभाजनमा केपी शर्मा ओली पक्षमा उभिएका छन् । यस्तै उपाध्यक्ष प्रमीला देवी माधवकुमार नेपालको पक्षमा छिन् । वन निमार्ण सम्पन्न गरेवापत भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएका थिए । सोही उजुरीका आधारमा आयोगको टोली गाउँपालिका पुगेको थियो । आयोगको टोली पुग्दा अध्यक्ष क्षेत्री स्कोर्पियो गाडीमा रकम सहित भाग्दै थिए । आयोगले पिछा गरेपछि अध्यक्ष क्षेत्री भने उक्त रकम धनुषा जिल्लाको छिरेश्वर नगरपालिका वडा नं। ५ को बाटो छेउमा फ्याँकेर फरार छन् । टोलीले अध्यक्ष सवार गाडी चालक विरबहादुर क्षेत्रीलाई वटेश्वर गाउँपालिका वडा नं ४ बाट नियन्त्रणमा लिएको छ । उक्त गाउँपालिकाको वडा नं १ का वडा अध्यक्ष शैलेन्द्रकुमार महतोले इञ्जिनियर र अन्य कर्मचारीको मिलेमतोमा यसअघि पनि यस्ता घटना हुँदै आएको गुनासोहरु सुन्ने गरेको बताए । ‘प्रमाणित नै गर्ने गरी घुस लिएको भेटेको थिएन, यसपाली अख्तियारले भेटेछ ।, वडाअध्यक्ष महतोले भने, ‘म अचम्मित छु ।’ यसअघि वडा अध्यक्ष राउत क्षेत्री एकल महिलालाई दूव्र्यवहार गरेको आरोपमा विवादमा आएका थिए । वडा नं १ का अध्यक्ष महतोका अनुसार क्षेत्रीले एकल महिलालाई दुव्र्यवहार र आपत्तीजनक शब्द प्रयोग गर्दा पटक–पटक विवादमा तानीएका थिए । यस्तै वडा नम्बर ४ का वडाध्यक्ष दिप रमण दाहालले गाउँपालिका अध्यक्ष क्षेत्री घुस रकम फालेर फरार भएको समाचारले लज्जित भएको बताए । उनले भने, म उपचारका  लागि विरगञ्जमा छु । यो समाचारले लज्जित छु । थप टिप्पणी गर्न चाहन्न ।

ताजा अपडेट

नेपालवाच विशेष