NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

मेयरकप हेर्न सार्वजनिक बिदा

ताप्लेजुङ । जिल्लाको फुङलिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयरकपको पहिलो दिन खेल हेर्न जानका लागि आज नगरले सार्वजनिक बिदा दिएको छ । मेयरकप भलिबल खेलको पहिलो दिन आज सार्वजनिक बिदा दिएको नगर प्रमुख छत्रपति प्याकुरेलले बताए । प्रतियोगिता चैत १५ सम्म चल्नेछ । नगरपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्यचौकी र नारपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द हुने नगारपालिकाले एक सार्वजनिक सूचना प्रकाशन गर्दै जानकारी गराएको छ । संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्दै सामाजिक सद्भाव बढाउन र खेलकूद क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले मेयरकप भलिबलको आयोजना गरिएको नगर प्रमुख प्याकुरेलले बताए । पर्यटन विकास र प्रवर्द्धनलाई खेलकूद क्षेत्रसँग जोड्ने अभियानको कार्यक्रममा चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिकुमार कार्कीले बताए । मेयर कपमा ताप्लेजुङका ९ पालिकाबाट यसअघि अध्यक्षकप जितेका टोली सहभागी हुनेछन् । उपाधि विजेताले २ लाख २१ हजार १०० र रनिङ कप पाउनेछ । उपविजेता टोलीले १ लाख ११ हजार १०० र कप पाउनेछ भने सान्त्वनास्वरूप उत्कृष्ट दुई टोलीलाई जनही ३३ हजार रुपैयाँसहित कप प्रदान गरिनेछ । विभिन्न विधामा उत्कृष्ट सात खेलाडीलाई समेत नगद प्रदान गर्ने नगरपालिकाले जनाएको छ । रासस