NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

सिरमले अप्रिल पहिलो साता १० लाख खोप नेपाल पठाउने

काठमाडौं । भारतको सिरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरिएकोमध्ये १० लाख मात्रा कोरोनाविरुद्धको खोप अप्रिल पहिलो साता नेपाल आउने भएको छ । नेपालले सिरमसँग अग्रिम भुक्तानी गर्दै २० लाख मात्रा ‘अस्ट्राजेनेका’ खोप खरिदको सम्झौता गरेको थियो । जसमध्ये १० लाख मात्रा खोप यसअघि नै भित्रिइसकेको छ । बाँकी खोप पनि चैत ४ भित्रै आउनेपर्ने थियो । तर कम्पनीले खोप पठाउन ढिलाइ हुने पत्रमार्फत नेपाल सरकारलाई जानकारी गराएको थियो। पछिल्ला केही दिनयता भारतमा निरन्तर कोरोना संक्रमणका बिरामीहरु बढिरहेकाले त्यहाँको सरकारले खोपको निर्यातमा प्रतिबन्ध लगाएको हल्लासमेत चलेको थियो । निर्यातमा प्रतिबन्ध तथा उत्पादनसमेत घटेकोजस्ता हल्लासँगै नेपाल आउनुपर्ने बाँकी १० लाख मात्रा खोप अप्रिल पहिलो सातासम्म नेपाल आइपुग्ने स्वास्थ्य मन्त्रालय स्रोतले जनायो । मन्त्रालय स्रोतका अनुसार खरिद गरिएको खोप पठाउन ढिला भएपछि सिरमसँग छलफल भएको थियो । जसमा सिरमले अप्रिलको पहिलो सातासम्म खोप नेपाल पठाउने बताएको छ । नेपाल सरकारले गत फागुनमा प्रतिमात्रा ४ अमेरिकी डलरका दरले २० लाख खोप खरिद गर्ने सम्झौता गरेको थियो । सम्झौताअनुसारको खोप नआएपछि सरकारले देशभर जारी दोस्रो चरणको खोप अभियानसमेत स्थगित गरेको थियो । यता, अर्को छिमेकी मुलुक चीनले दिएको सिनोफार्म कम्पनीको ८ लाख डोज खोप पनि नेपाल आउने भएको छ । आगामी सोमबार चीन सरकारले नेपाललाई दिएको ८ लाख डोज खोप आइपुग्न लागेको हो । नेपालमा हालसम्म २३ लाख ४८ हजार मात्रा खोप भित्रिइसकेको छ । जसमध्ये अनुदान र खरिद गरी भारतबाट २० लाख तथा कोभाक्स सुविधाअन्तर्गत ३ लाख ४८ हजार खोप नेपाल आइसकेको छ । हालसम्म नेपालमा १६ लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।