NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

नेपाल भ्रमणमा आउने पर्यटकका लागि कोरोना बीमा खारेज, यस्तो छ नयाँ मापदण्ड

काठमाडौं । सरकारले नेपाल भ्रमणमा आउने पर्यटकका लागि नयाँ मापदण्ड जारी गरेको छ । पर्यटकका लागि स्वास्थ्य प्रोटोकोलसहित आगमन सहज बनाउँदै ‘पर्यटकहरुको आवगमनलाई व्यवस्थित गर्ने सम्बन्धित मापदण्ड, २०७७’ मन्त्रिपरिषद्ले जारी गरेको हो । नयाँ मापदण्डमा पहिलाभन्दा केही व्यवस्था परिमार्जित भएर आएका छन् । जसअनुसार अब पर्यटकहरूले नेपाल आउँदा गर्ने पाँच हजार डलर बराबरको कोरोना बीमा खारेज भएको छ । अब नेपाल आउनका लागि आपतकालीन खोज, उद्दार, उपचारलगायतका विषय समेटिएको नेपाल यात्रा अवधिभरका लागि मान्य हुने गरी गरिएको यात्रा बिमा भए पुग्छ । नयाँ मापदण्ड अनुसार पर्यटकहरूले बोर्डिङ हुनुभन्दा बढीमा ७२ घण्टा अगाडि दिइएको स्वाबको कोरोना पिसिआर परीक्षण गरेको कागजात बुझाउनुपर्नेछ । नेपाल आइसकेपछि कोेभिडविरुद्धको खोप लगाएका र पिसिआर परीक्षणको प्रतिवेदन लिएर आएका पर्यटकले नेपाल आएपछि आफ्नै खर्चमा पिसिआर परीक्षण गराउनुपर्छ । नतिजा नआएसम्म होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । परीक्षणको नतिजा नेगेटिभ आएमा पर्यटकीय गतिविधिमा सहभागी हुन पाउनेछन् भने पोजेटिभ आए, नेगेटिभ नआएसम्मका लागि होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । पर्यटक नेपालमा रहुञ्जेल उनीहरूको गतिविधिको निगरानीलगायत उपचारको सम्पूर्ण जिम्मा सम्बन्धित संस्था वा एजेन्सीको हुनेछ । पर्यटकलाई गतिविधिमा सरिक हुँदा स्वास्थ्य मापदण्ड पालना गर्ने र गराउने जिम्मा पनि सम्बन्धित एजेन्सीलाई नैै दिइएको छ । एजेन्सीले पर्यटकको साथमा जाने सहयोगीको पनि कम्तीमा पनि एक लाखसम्मको कोरोना बीमा गराउनुपर्नेछ । एजेन्सीहरूले पनि मापदण्ड पालना गरे÷नगरेकोबारे अनुगमन गर्ने जिम्मा पर्यटन विभाग र नेपाल पर्यटन बोर्डलाई दिइएको छ । त्यस्तैगरी अब हवाईमार्गबाट नेपाल आउने पर्यटकले सम्बन्धित मुलुकमा नेपालको भिसा नपाएमा या कठिन भएको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन बिन्दुमा अन अराइभल भिसा प्राप्त गर्न सकिन्छ । तर स्थलमार्गबाट आउनेहरु भने विदेशस्थित नियोगबाट भिसा लिएर मात्रै नेपाल प्रवेश गर्न पाउँछन् । यस्तो छ मापदण्डको पूर्णपाठ