NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

कांग्रेस नेता जोशीको यस्तो छ पारिवारिक र राजनीतिक पृष्ठभूमि

काठमाडौं । शुक्रबार राति निधन भएका नवीन्द्रराज जोशी नेपाली कांग्रेस वृत्तमा वैचारिक र अध्ययनशील नेता थिए । जोशीको जन्म २०२० साल पुस २४ गते भएको थियो । काठमाडौं क्षेत्र नं. ८ बाट निर्वाचित नेपाली कांग्रेसका संविधानसभा सदस्य नवीन्द्रराज जोशी काठमाडौं महानगरपालिकाका पूर्वउपमेयरसमेत रहेका थिए । २०३६ सालबाट विद्यार्थी राजनीतिमार्फत राजनीतिमा होमिएका जोशीले नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला अध्यक्ष र केन्द्रीय महामन्त्रीको जिम्मेवारी सम्हालेका थिए । प्रजातान्त्रिक आन्दोलनका क्रममा जोशी पटकपटक पक्राउसमेत परेका थिए । लोकतान्त्रिक राजनीतिक प्रणालीले नै देशलाई प्रगतिको बाटोमा हिँडाउन चाहने जोशीले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका थिए । कुशल संगठनकर्ता र वक्ताका रूपमा परिचित जोशी सामाजिक हितका कार्यमा अग्रणी मानिन्थे । उनले गणेशमान सिंह अध्ययन प्रतिष्‍ठानका संस्थापक तथा अध्यक्ष रहेर समेत काम गरेका थिए । जोशीका एक छोरी र श्रीमति छन् ।