NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

कोरोनाविरुद्ध पहिलो खोप लगाएकाले १२ हप्तासम्म पनि दोस्रो डोज नपाए के हुन्छ ?

भारतले आफ्नो देशमा संक्रमणको दर उच्च भएका कारण यतिबेला खोप ल्याउन ढिला गरेसँगै नेपालमा कोभिसिल्डको दोस्रो डोजको खोप लगाउन बाँकी भएकामा अन्योल सिर्जना भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिर अधिकारीका अनुसार हाल नेपालमा पन्ध्र लाख भन्दा बढीले कोभिडविरुद्ध कोभिसिल्ड खोप लगाइसकेका छन् । मन्त्रालयसँग हाल ७ लाख डोज खोप बाँकी छ । सोही खोपबाट आउँदो बैशाख ७ गतेबाट दोस्रो डोज लगाउने तयारी रहेको उनले बताए । तर, भारतले खोप निर्यातमा रोक लगाउँदा यतिबेला पहिलो डोज पाएकाहरू अन्योलमा छन् । ‘हालसम्मको कुराकानीको आधारमा भारतबाट खोप आउँछ भन्नेमै विश्वस्त छौं,’ उनले भने, ‘बाँकी भएका डोज लगाउँदै गर्दा भारतबाट आउँछ भन्ने विश्वास छ । दोस्रो डोजको खोप सबैलाई लगाइन्छ ।’ भारतले पहिलो पटक १० लाख खोप अनुदानमा दिएपछि यतिबेला नेपालले ५० लाख खोप खरिद गर्ने योजना बनाएको छ । नेपालसँगै विश्वका ७७ भन्दा बढी मुलुकमा खोप उपलब्ध गराइसकेको भारतले यतिबेला खोप निर्यातमा रोक नै लगाएको छ । अहिले भारतमा दैनिक औसतमा ९० हजारको दरले कोभिड संक्रमित बढिरहेका छन् । अनुसन्धानले देखाएअनुसार कोभिसिल्ड लगाएकालाई १२ हप्ताको अन्तरालमा दोस्रो डोज लगाउन सकिने बताउँछन् जनस्वास्थ्य विज्ञ डा.समिरमणी दिक्षित । तर, १२ हप्तासम्म पनि दोस्रो डोज लगाउन नपाएको खण्डमा स्वास्थ्यमा के असर पर्छ भन्नेबारे अन्योल नै रहेको बताउँछन् उनी । ‘यसबारे अहिलेसम्म ट्रायल नै नगरिएको हुँदा स्पष्ट भएको अवस्था छैन,’ उनले भने, ‘दोस्रो डोज लगाउने निर्धारित समयवधि सकिएमा खोपको प्रभावकारिता घट्न सक्नेबारे अहिलेसम्म अनुमानमात्रै गरिएको विषय हो ।’ हालसम्म करिब १६ लाख ५४ हजार ३ सय ५३ भन्दा बढीले कोरोना विरुद्धको खोेप लगाइसकेका छन् । सरकारले माघ १४ गतेबाट नेपालमा पहिलो पटक कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु गरेको थियो । माघ ११ देखि फागुन १० गतेसम्म खोप लगाएकालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ६ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने निर्णय गरेको छ । यसरी पहिलो चरणमा खोप लगाएकाले तीन महिनाको अन्तरालमा दोस्रो डोजको खोप पाउन लागेका हुन् । नेपालमा यतिबेला भारतको कोभिडसिल्ड र चीनको सिनोफर्मको खोप लगाइएको अवस्था छ । हालसम्म देशमा फरक–फरक कम्पनीका खोप आएको कारण एउटा कम्पनीको खोप लगाएकाले अर्को कम्पनीको खोप दोस्रो डोजमा लगाउन सकिनेनसकिनेबारे पनि अन्योल छ । तर, फरक फरक कम्पनीको खोप एकै व्यक्तिमा लगाएर हालसम्म अनुसन्धान भएको छैन । जसकारण पहिलो डोजमा जुन कम्पनीको खोप लगाएको हो, दोस्रो डोजमा पनि सोही कम्पनीको खोप लगाउनुपर्ने डा.दिक्षीतले बताए । हालसम्म नेपालमा भारत सरकारबाट अनुदानस्वरुप दश लाख डोज खोप नेपाल आएको छ भने १० लाख डोज नेपालले भारतसँग खरिद गरेको छ । त्यस्तै कोभ्याक्स कार्यक्रमबाट ३ लाख ४८ हजार डोज र चिनियाँ सरकारले अनुदान दिएको ८ लाख गरेर जम्मा ३१ लाख ४८ हजार डोज खोप नेपाल आइसकेकोे छ ।