NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

विकासमा झेल : मध्यपहाडी लोकमार्गको लागत ३३ अर्बबाट एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको काम अहिलेसम्म ५४ प्रतिशत मात्रै सकिएको छ । जब कि सुरुमा ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगेको छ । वर्ष ०६४-६५ मा सुरु भएको आयोजना ०७३-७४ मा सक्ने सुरुवाती लक्ष्य थियो । तर, निर्माणमा ढिलाइ भएपछि ६ वर्ष म्याद थपेर ०७९र८० निर्माण सक्ने भनिएको छ । तर, म्याद थपिएको तीन वर्षमा पनि कामले तीव्र गति समातेको छैन । त्यसैले आगामी तीन वर्षमा आयोजना सम्पन्न हुने लक्षण छैन । आयोजना सुरु गर्दा कुल लागत ३३ अर्ब ३६ करोड लाग्ने अनुमान गरिएको थियो । तर, आर्थिक वर्ष ०७०-७१ मा आयोजनाको रेखांकन परिवर्तन गरियो । त्यसपछि लागत बढेर अहिले एक खर्ब एक अर्ब ५० करोड रुपैयाँ पुगेको छ । पहिले सिन्धुलीको खुर्कोटदेखि पोखरासम्म सञ्चालनमा रहेकै राजमार्ग प्रयोग गर्ने भनिएको थियो । तर, पछि रुट परिवर्तन गरेर ओखलढुंगाबाट रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, लमजुङ हुँदै पोखरा जोड्ने नयाँ रेखांकन भयो । थपिएको म्यादअनुसार आयोजना ०८० मा सम्पन्न गर्ने लक्ष्य छ । तर, अहिलेसम्मको प्रगति विवरण हेर्दा तोकिएको समयमा आयोजना सम्पन्न हुने देखिँदैन । आयोजना निर्माण थालिएको १२ वर्ष पूरा भइसकेको छ र अहिलेसम्म ५४ प्रतिशत मात्र प्रगति भएको छ । आजकाे नयाँ पत्रिकामा खबर छ।