NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

कारबाही र संवादको नीतिबाट विप्लव र राउतलाई मुलधारमा ल्याउन सफल भयौं : गृहमन्त्री बादल

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले देशमा अहिले कुनै पनि अराजक तत्व सक्रिय नरहेको टिप्पणी गरेका छन् । उनले सिके राउत र नेत्रविक्रम चन्द (विप्लव) समूहलाई मुलधारको राजनीतिमा ल्याउनु सरकारको ठूलो उपलब्धी रहेको बताएका छन् । सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्‍दै गृहमन्त्री बादलले हिंसात्मक गतिविधिमा सक्रिय शक्तिहरुलाई शान्तिपूर्ण बाटोमा ल्याउन सरकारले ‘प्रशासनिक कारवाही र राजनीतिक संवाद’ नीति लिएकोमा त्यो सफल भएको दाबी गरे । ‘यसअघिका सुरक्षा गोष्ठीमा विप्लव र सीके राउतले उत्पन्न गरेका सुरक्षा चुनौतीका विषयले प्राथमिकता पाउथे । यसपटकको गोष्ठीसम्म आइपुग्दा ती विषय गौण बनेका छन् । हामीले उनीहरुलाई एकातर्फ प्रशासनिक कारवाही गरेर रक्षात्मक अवस्थामा पुर्‍यायौं, अर्कोतर्फ वार्ताको माध्यमबाट समस्या समाधान गर्‍यौं,’ बादलले भने । उनले राज्यको शान्ति–सुरक्षालाई नै चुनौती दिने खालका समूहहरु अब नरहेको भन्दै अझै केही समूह धर्म, जाति र क्षेत्रका नाममा अस्थिरता निम्त्याउन प्रयासरत रहेकोले त्यस्ता समूहतर्फ सचेत हुन सुरक्षा निकायलाई सचेत गराए । गृहमन्त्री थापाले सुरक्षा गोष्ठीमार्फत गण्डकी प्रदेशका ११ जिल्लाको सुरक्षा अवस्था, सकारात्मक र नकारात्मक पक्षबारे जानकारी आएको भन्दै अब सोही अनुसार नयाँ सुरक्षा रणनीति बन्ने बताए । उनले हाल देखिएका कमजोरीलाई निर्ममतापूर्वक सच्याउनसमेत मातहतका निकायलाई सुझाव दिए । गोष्ठीमा गृहमन्त्री बादल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, आन्तरिक मामिला मन्त्री रामशरण बस्नेत, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक सैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको सहभागीता थियो । यस्तै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका युद्धकार्य निर्देशनालयका रथी, गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्लाका सिडिओ र जिल्लास्थित चार वटै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो । गत वर्ष नै हुनपर्ने प्रदेश सुरक्षा गोष्ठी कोरोनाका कारण रोकिएको थियो ।