NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

भारतमा एकै दिन २ लाखभन्दा बढीमा कोरोना संक्रमण, १ हजार ३८ जनाको मृत्यु

नयाँदिल्ली । भारतमा एकै दिन २ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा भारतभर २ लाख ७३९ जना संक्रमित थपिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म संक्रमित हुनेको संख्या १ करोड ४० लाख ७४ हजार ५६४ पुगेको छ । मन्त्रालयका अनुसार बिहीबार कोरोनाकै कारण १ हजार ३८ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म १ लाख ७३ हजार १२३ जना संक्रमितको मृत्यु भइसकेको छ । सक्रिय संक्रमितको संख्यासमेत झन्डै १५ लाख पुगेको छ । पछिल्लो २४ घन्टामा ९३ हजार ५२८ जना निको भएपनि अझै १४ लाख ७१ हजार ८७७ जना आइसोलेसन र क्वारेन्टाइनमा छन् । विभिन्न राज्यमा विधानसभा निर्वाचन, कुम्भमेला, भाइरसको यूके स्ट्रेन र डबल म्युटेन्ट भेरिएन्ट फैलनुलगायतका कारण भारतमा कोरोना संक्रमण तिव्र गतिमा विस्तार भइरहेको हो । खोप अभियानलाई देशैभर सञ्चालनमा ल्याइएको छ । हालसम्म ११ करोड ४४ लाख ९३ हजार २३८ जनाले कोरोनाविरुद्धको कम्तिमा एक मात्रा खोप पाइसकेका छन् । झारखण्डमा एक तिहाइ नमुनामा यूके स्ट्रेन र डबल म्युटेन्टझारखण्डको राँची र सिंहभूम जिल्लमामा पछिल्लो पटक लिइएका नमुनामध्ये कम्तिमा ३३ प्रतिशतमा कोरोनाको यूके स्ट्रेन र डबल म्युटेन्ट भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य विभागका अनुसार भुवनेश्वरस्थित इन्स्टिच्युट अफ लाइफ साइन्सेसमा गरिएको अनुसन्धानमा भाइरसको यूके स्ट्रेन बी-१.१.७ र डबल म्युटेन्ट स्ट्रेन बी-१.६१७ बढी मात्रामा पाइएको हो । राज्यका प्रमुख स्वास्थ्य सचिवले गत जनवरी १ दखि मार्च २३ सम्म यस्ता नमुना निकै न्यून मात्रै भेटिएको बताए । बुधबार मात्रै झारखण्डमा कोरोनाकै कारण ३१ जनाको मृत्यु भएको छ । पछिल्लो ४ दिनमा यो संख्या १०० रहेको तथ्यांक छ । बुधबार साँझको रिपोर्टअनुसार राज्यमा ३ हजार १९८ जना संक्रमित थपिएकामा १ हजार २७३ जना राँचीका मात्रै थिए । यो संख्या एक दिनमा थपिएको हालसम्मै सबैभन्दा धेरै हो । दोस्रो राज्यबाट आउनेलाई उत्तरप्रदेशमा क्वारेन्टाइन अनिवार्यउत्तर प्रदेश सरकारले अन्य राज्यबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नयाँ नियम जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले बाहिरबाट आउनेको कोरोना परीक्षण गराउने र लक्षण देखिएकालाई १४ दिन र अन्यलाई ७ दिन होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने नयाँ व्यवस्था लागू गराइएको छ । उत्तर प्रदेश प्रशासनका मुख्यसचिव अमित मोहन प्रसादले सबै जिल्ला अधिकारीलाई यसबारेमा पत्राचार गरी नियम पलनामा कडाइ गर्न निर्देशन दिएका छन् । पत्रमा होम क्वारेन्टाइनमा बस्न नसक्नेका लागि विद्यालय, सार्वजनिक भवनलगायतमा क्वारेन्टाइन स्थापना गरी सुरक्षित तवबरले राख्न भनिएको छ ।