NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

जापानका प्रधानमन्त्री सुगा अमेरिका प्रस्थान, चीन मामिला मुख्य कार्यसूची

टोकियो । जापानका प्रधानमन्त्री योसिहिडे सुगा बिहीबार चार दिने भ्रमणका लागि अमेरिका प्रस्थान गरेका छन् । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनसँग प्रत्यक्ष भेटवार्ता गर्ने सुगा पहिलो विदेशी सरकार प्रमुख बन्नेछन् । प्रधानमन्त्री सुगाले ट्रम्प कार्यकालमा धरमराएको परम्परागत अमेरिकी गठबन्धनलाई पुनजीर्वित तुल्याउन तथा चीन मामिलामा साझा धारणा निर्माण गर्न मुख्य रुपमा बाइडेनसँग छलफल गर्ने बताइएको छ । अमेरिकी वरिष्ठ दुई अधिकारीहरुले गत मार्चमा जापानको भ्रमण गरेपछि प्रधानमन्त्री सुगाले अमेरिका भ्रमण गर्न लागेका हुन् । बाइडेनसँग सुगाको भेटवार्ता शुक्रबार हुनेछ । जापानी विदेश नीति इन्स्टिच्युटका अध्यक्ष कुनिहिको मियाकेले प्रधानमन्त्री सुगाको भ्रमणलाई पूर्वी एसिया मामिलामा अमेरिकाले उच्च प्राथमिकता दिएको छ भन्ने सङ्केतका रुपमा जापानले बुझ्न चाहेको बताए । चीनले पूर्वी एसियामा सैनिक उपस्थिति सुदृढ गरिरहेको भन्दै जापानले विरोध गरिरहेको छ । बाइडेन र सुगाले जारी गर्ने संयुक्त वक्तव्यमा जापान अधीनस्थ द्वीपहरुलाई सुरक्षित तुल्याउन विगतको जापान–अमेरिका सुरक्षा सन्धिको थप प्रभावकारी कार्यान्वयनमा जोड दिने अपेक्षा गरिएको छ । (रासस/एएफपी)