NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

मध्यपुरथिमिवासीले मनाए सिन्दुर जात्रा

भक्तपुर । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथः सिया जात्रा अर्थात् सिन्दुर जात्रा मनाएका छन् । कोरोना महामारीको बेवास्ता गर्दै मध्यपुरथिमिका बासिन्दाले बिहानैदेखि टोलटोलबाट विभिन्न देवताको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाइएका हुन् । थिमिमा मात्र मनाइने यस जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमेलगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर बालकुमारी र थिमिभित्र ३२ खट ल्याएर भव्यरूपमा मनाउने परम्परा छ । आज बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । बुधबारदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि जात्रा सुरु भएको थियो । जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवताघर परिक्रमा गराइएको थियो । यसैगरी विष्णुवीर, सिद्धिकालीलगायतका देवदेवीको खट पनि ल्याइएको थियो । थिमिमा ३२ खट सहभागी रथ बोकेर परम्परागतरूपमा मनाउँदै आएको सो जात्रा अहिले थिमि क्षेत्रमा २३ , नगदेशमा नगदेश, बोडेमा, टिगनी, दक्षिण बाराही, निकोसेरालगायतमा छुटाछुटै स्थानमा खटजात्राका साथ सिन्दुर जात्रा गरी मनाइने गरेको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए । कोरोना भाइरसको बाहनामा नेवार संस्कृतिमाथि केही धर्मविरोधीले चलखेल गरी जात्रा रोक्ने प्रयास गरेपनि त्यसलाई विफल बनाएर भव्यरूपमा जात्रा मनाइएको उनको भनाइ छ । थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै जात्रा मनाइन्छ । मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सुथः सिया जात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । जात्रामा काँयाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एकअर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालुहरु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो । बालकुमारीबाट परम्परागतरूपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणहरुसहित क्वाछें द्यो, हिचो द्यों, अजिमा द्यों, विष्णुवीर र अन्य देवगणहरुको खट उचालेपछि बालकुमारीको जात्रा सुरु गरिन्छ । परम्पराअनुसार नै देवता लायकू दरबारभित्र पस्न नपाउन् भनेर लायकू प्रवेशद्वारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यों, सिद्धिकाली र अरु देवताका गणहरु बाटो छेकेर बस्ने परम्परा छ । अगाडि बढाउँदै ल्याउने बालकुमारीलाई भैलः द्यों परिक्रमा गरी क्रमैसँग सुगां द्याें, क्वाछे द्योंमा पनि सिन्दुर खेल्दै परिक्रमा गराइन्छ । एकअर्कामा सौहार्दपूर्णरूपमा सिन्दुर दल्ने, छ्याप्ने र धिमेबाजाको तालसँगै नाच्दै रमाउँदै उल्लासमय रुपमा यो जात्रा मनाउने गरिन्छ । जात्रा हेर्नका लागि विभिन्न क्षेत्रबाट दर्शकको घुइँचो लागेको छ । जात्रा सकिएपछि दिउँसो बोडेमा जिब्रो छेड्ने जात्रा सुरु हुन्छ । (रासस)