NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

आठौंपटक जिब्रो छेडे बुद्धकृष्णले

काठमाडौं । हरेक वर्ष मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा मनाइने ‘जिब्रो छेड्ने जात्रा’मा बुद्धकृष्ण बाग श्रेष्ठले आठौंपटक जिब्रो छेडेका छन् । बिस्का जात्रा अन्तर्गत मनाइने उक्त जात्रामा बुद्धकृष्णले दुई वर्षपछि जिब्रो छेडेका हुन् । गत वर्ष नै जिब्रो छेड्न तयार रहेका बुद्धकृष्णले कोरोना भाइरसको प्रकोपका कारण छेड्न पाएनन् । आज मध्यपुरथिमि नगरपालिका–५ बोडेस्थित गणेश मन्दिरमा उनले यसपाली आठौंपटक जिब्रो छेडेका हुन् । १२ वर्षअघिसम्म उनले लगातार चारपटकसम्म जिब्रो छेडेका थिए । पाँचौंपटक घरमा जूठो परेपछि भने रोकिएको थियो । जिब्रो छेड्न तयार बुद्धकृष्णले तीनदिन अघिदेखि केही नखाइ व्रत बसेका थिए । व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नुहुन्न भन्ने भनाइ रहँदै आएको छ । त्यस्तै व्रत बस्दा जिब्रो छेड्दा शक्ति प्राप्त होस् भनी जिब्रो छेड्ने व्यक्तिले बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजा गर्ने चलन रहेको छ । स्थानीय पाँचो गणेश मन्दिरमा जिब्रो छेड्ने दिन नाइके प्रधान, कर्मी नाइके उपस्थित भइसकेपछि नाय्खीँ बाजासहित तीनपटकसम्म जिब्रो छेड्ने व्यक्तिको घरमा निमन्त्रणा लिएर जानुपर्छ । तेस्रोपटकमा मात्रै उक्त व्यक्ति जिब्रो छेड्दा प्रयोग गरिने परम्परागत पोशाक लगाएर गर्वका साथ पाँचो गणेश मन्दिर आइपुग्ने जात्राको विधान छ ।