NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

कर्णाली सरकार बदल्न ‘एक भोट’काे राेचक प्रतिस्पर्धा

काठमाडाैं । फेरि एकपटक नेपाली राजनीतिमा सबैको ध्यान कर्णालीतिरै सोझिएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकार यतिबेला अल्पमतमा परेको छ। एक महिनाअघि नै प्रमुख सत्तासाझेदार नेकपा एमालेले सरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भोलि विश्वासको मत लिँदैछन् । महेन्द्रबहादुरको शाहीको सरकारमाथि ग्रहण लागेको यो पहिलोपटक भने होइन । यसअघि पनि दुईपटक ढल्नै लाग्दा केन्द्रीय नेतृत्वको छलफलपछि जोगिएको थियो । काम गर्न नसकेको भन्दै दुईपटकसम्म माओवादी र एमालेका सांसदहरुले सरकार ढाल्न हस्ताक्षर अभियान नै चलाए । त्यहि विवादको धक्का केन्द्रसम्म पुग्यो । नेकपा विभाजन हुनुको बिउ कर्णालीबाटै रोपिएको मानिन्छ । यद्यपि अहिले भने औपचारिक रुपमै एमालेले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही विश्वासको मत लिने बाध्यात्मक अवस्थामा पुगेका हुन् । कर्णाली प्रदेशसभामा नेकपा एमालेले एक्लै सरकार बनाउने संख्या छ । तर, पनि नेकपा एकतापछि कर्णाली प्रदेश नेकपा माओवादी केन्द्रको भागमा परेको थियो । मुख्यमन्त्री महेन्द्रबहादुर शाही केन्द्रीय राजनीतिमा प्रभाव जमाइसकेका मानिस हुन् । ऊर्जामन्त्री र संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोगको प्रस्ताव राख्दा नै उनी राष्ट्रिय राजनीतिमा चुनिएका थिए । तर, प्रदेशसभाको निर्वाचनमा मुख्यमन्त्री हुने अपेक्षाका कारण उनी संघमा निर्वाचन नलडेर प्रदेशमै आए । यता नेकपा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कंडेल पनि पूर्व पर्यटनमन्त्री हुन् । नेकपा एमालेभि कर्णालीमा निकै लोकप्रिय नेता हुन् । मुख्यमन्त्री बन्ने लालसाका कारण संघमा पाएको टिकट त्यागेर उनी प्रदेशमा लडे । उनले भनेअनुसारको मत पनि एमालले पायो । दुर्भाग्य नै मान्नुपर्छ । संसद्मा एक्लै बहुमत ल्याएको नेकपा एमालले भागबण्डाको चंकुलमा सरकारको नेतृत्व गर्ने अवसरबाट वञ्चित हुनपुग्यो । यसअघि मुख्यमन्त्री शाहीविरुद्ध हस्ताक्षर अभियान चलाउँदा त्यसको मुख्य योजनाकार पनि यामलाल कँडेललाई नै भएको आरोप लाग्दै आएको छ । अहिले पुनः सत्ताको बागडोर उनै कँडेलको हातमा आइपुग्ने सम्भावना छ । नेकपा विभाजनपछि तल्लो तहसम्म एमालेभित्र विवाद देखिएको छ । तर, कर्णालीमा पनि त्यो विवाद लामो समय रहेन । सुरुमा माओवादीलाई नै समर्थन गर्ने अडान लिए पनि कर्णालीमा एमाले विभाजित नगर्ने भन्दै माधव नेपाल समूहका सांसद पनि ओली समूहतिरै उभिए । माधव नेपाल समूहका तीन जना मन्त्री दल रावल, प्रकाश ज्वाला र नन्दसिंह बुढाले राजीनामा दिँदै संसदीय दलको निर्णय मान्ने बताएपछि मुख्यमन्त्री शाही विश्वासको मत लिने निर्णयमा पुगेका थिए । अहिले कर्णालीमा सत्ताका लागि रस्साकस्सी चलेको छ । संसद्मा भएका जम्मा ४० सिटमध्ये एमालेतिर लागेका धर्मराज रेग्मीलाई माओवादीले कारबाही गरेपछि अब ३९ सिट मात्र बाँकी छ । सभामुखलाई छाडेर भोलिको मतदानमा एमालेका तर्फबाट मत दिने १९ सांसद छन् । यता १२ माओवादी, ६ कांग्रेस र १ राप्रपा मिल्ने हो भने पनि १९ नै पुग्छ । यस्तोमा मत बराबर भएमा सभामुख नै निर्णायक हुनेछन् । सभामुख एमालेकै भएका कारण भोलिको मतदानमा मुख्यमन्त्री शाहीले विश्वासको मत आफ्नो पक्षमा पार्न नसक्ने चर्चा छ । तर, अहिलेसम्म कांग्रेस र राप्रपाले कसलाई सहयोग गर्नेभन्ने निर्णय गरिसकेका छैनन् । यद्यपि माओवादीले भने आलोपालो सरकार चलाउने प्रस्ताव कांग्रेसलाई दिएको छ । नेकपा एमालेले पनि कांग्रेस र राप्रपालाई फकाइरहेको छ । आफूसँग स्पष्ट बहुमत हुँदा हुँदै पनि भोलिको मतदानमा आन्तरिक धोका भएमा समस्या पर्नसक्ने भन्दै व्याकअपका लागि कांग्रेस र राप्रपालाई फकाउन लागेको हो । दुवैतिरबाट सरकारमा सहभागी हुनका लागि प्रस्ताव आए पनि आफूहरुले कसैको पक्षमा निर्णय नदिएको कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए । ‘माओवादीले पनि आलोपालो सरकार चलाउँ भनेर प्रस्ताव राखेको छ । एमालेले पनि सत्तामा साझेदारीका लागि कुरा गरेको छ । हामी छलफलमै छौं । अहिले नै अविश्वासको पक्षमा गर्ने कि विपक्षमा गर्ने भन्ने निर्णय भइसकेको छैन ।’ बाहिरबाट माधव नेपाल समूहबाट धोका हुने चर्चा भए पनि आन्तरिक रुपमा त्यस्तो कुनै तिक्तता नभएको माधव नेपाल समूहका सांसद बताउँछन् । आफूहरु मुख्यमन्त्री शाहीको सरकारविरुद्ध नै मतदान गर्ने पक्षमा सहमत भएको माधव नेपाल समूहका सांसद दल रावलले नेपालवाचलाई बताए । ‘बजारले त जे पनि हल्ला गर्छ नि । पार्टीप्रतिको निष्ठाकै कारण हामी जितेर आएका हौं । अब संसदीय दलले गरेको निर्णय नमान्ने भन्ने कुरै छैन । भोलि सरकारले विश्वासको मत हासिल गर्न सक्दैन ढुक्क हुनुहोस्’, उनले भने । यस्तै, आफूहरु पार्टी एकताको पक्षमा हुनुका साथै जनताले नै एमाले एक्लैलाई सरकार बनाउन मत दिएकाले अब त्यो मतको कदर हुने बताए । ‘हामी छलफलमै छौं । भोलिको मतदानमा मुख्यमन्त्रीका विरुद्ध मतदान गर्नेमा एक भएका छौं’, उनले अघि भने । यति मात्र होइन, मुख्यमन्त्री शाहीले भोलिको मतदानबाट विश्वासको मत लिन नसकेको खण्डमा भावी मुख्यमन्त्री कँडेल नै हुने पक्का देखिएको छ । माधव नेपाल समूहतिरका दुई प्रभाव पार्नसक्ने नेताहरु दल रावल र प्रकाश ज्वालाले पनि यसअघि नै कँडेललाई मुख्यमन्त्री बनाउनुपर्ने बताउँदै आएका थिए । नेपालवाचसँगको कुराकानीमा पनि रावलले शाहीको सरकार ढलेपछि मुख्यमन्त्रीका संसदीय दलको नेताका हैसियतले कँडेल नै हुने बताए । ‘संसदीय दलको नेता उहाँ नै हुनुहुन्छ । तै पनि भोलिको घटनालाइै पर्खौं । सरकार ढलेपछि त को मुख्यमन्त्री बन्ने भन्ने क्लीयर भइहाल्छ नि ।’ यता माओवादी केन्द्रले आफूहरु विकासको मार्गमा गतिशिल भएकाले एमालले ढाल्न खोजेको आरोप लगाएको छ । सत्तास्वार्थका कारण सरकार ढाल्न खोजेको आरोप लगाउँदै माओवादीले विश्वासको मतदानमा मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्न अपिल गरेको छ । कांग्रेस र राप्रपाले साथ दिए पनि मुख्यमन्त्रीलाई विश्वासको मत लिन सकस नै छ । अघिल्लोपटक हस्ताक्षर अभियानमा मुख्यमन्त्रीविरुद्ध माओवादीकै सांसद उग्र थिए । आज रातभरीमा पार्टीका नेताहरुबीच हुने छलफल र भोलिको घटनाले के परिणाम निम्त्याउँछ भन्नेतिर सबैको चासो छ । अहिले केन्द्रदेखि जिल्ला तहसम्मको राजीनिक नेतृत्वले कर्णालीलाई नै हेरिरहेको छ ।