NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

देउवा भन्छन्, ‘प्रधानमन्त्रीका लागि लालायित छैन, परिस्थिति बने पछाडि हट्दिन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् । आइतबार आफ्नो निवास बुढानिलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका हुन् । तर, नेपाली कांग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा पछि नहट्ने उनले प्रष्ट्याए । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निउ नखोज्ने पनि सभापति देउवाले बताए । आफुहरु प्रधानमन्त्रीका लागि मरिमेटेर नलाग्ने उनको प्रष्टोक्ति थियो । ‘प्रचण्डजीहरुले समर्थन फिर्ता लिएका छैनन् । त्यसमानेमा बहुमतकै सरकार छ अहिले । बहुमतको सरकार भएको बेलामा हामीले अरु कुनै कुरा सोच्ने कुरा छैन’ देउवाले भने, ‘त्यसकारण हामीले बहुमतकै सरकार मानेका छौँ । बहुमतको सरकारमा हामीले निउँ खोज्नेकुरा छैन । हामीलाई प्रधानमन्त्री चाहियो भनेर मरिमेट्ने कुरा पनि छैन । हामी प्रधानमन्त्री पदको लागि लालायित छैनौं । तर राजनीतिक परिस्थितिबाट यदि भोलि हामीले नै नेतृत्व गर्नुपर्ने अवस्था आयो भने हामी पछाडि हट्दैनौँ ।’ सभापति देउवाले वर्तमान राजनीति तरल अवस्थामा रहेको भन्दै स्थिति यतै जान्छ भनेर भन्न सक्ने अवस्था नरहेको बताए । सर्वोच्च अदालतले संसद् पुनस्थापना गरिसकेपछि संसदीय व्यवस्था अझै सुदृढ हुने विश्वास पनि सभापति देउवाले व्यक्त गरे ।