NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

कोरोनाबाट बच्न यती एअरलाइन्सले गर्‍यो स्वास्थ्य मापदण्डमा कडाइ

काठमाडौं । दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै यती एअरलाइन्सले स्वास्थ्य मापदण्डलाई कडाइ गरेको छ । लामो समयको बन्दाबन्दीपछि स्वास्थ्य सतर्कतालाई प्राथमिकता राखेर उडान सुरु गरेको यतीले दोस्रो चरणको कोरोना संक्रमण बढेसँगै स्वास्थ्य मापदण्डलाई कडाइ गरेको हो । यात्रुलाई सुरक्षित र सङ्क्रमणरहित यात्रा गराउने उदेश्यले बन्दाबन्दीपछि स्वास्थ्य निर्देशिका बनाएको थियो । उक्त स्वास्थ्य निर्देशिकालाई कडाइका साथ पालना गराउँदै आएको एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए । ‘अहिलेको अवस्थामा सङ्क्रमण जोखिम कायम रहे पनि उच्च सतर्कता अपनाएर यात्रुलाई सुरक्षित यात्रा गराउन हामी प्रतिबद्ध छौँ,’ प्रवक्ता बर्तौलाले भने । यतीले बन्दाबन्दीपछि जारी गरेको स्वास्थ्य निर्देशिकालाई बेलाबेला परिमार्जन गरी पालना गर्दै उडान गरेकाले अहिलेसम्म कसैलाई पनि कोरोना सङ्क्रमण नभएको उनको भनाइ छ । ‘निर्देशिका तयार गर्नु मात्र महत्वपूर्ण होइन, नियमित कार्यान्वयन गर्नु महत्वपूर्ण हो, यसका लागि हामी निरन्तर लागिरहेका छौं’, उनले भने । सुरक्षित यात्राका लागि ढुक्क भएर यती एयरलाइन्स तथा तारा एयरमार्फत उडान गर्नसमेत उनले अनुरोध गरे । यतीले पहिलो पंक्तिमा कार्यरत शत प्रतिशत कर्मचारीहरुलाई पहिलो चरणको खोप लगाउने काम सम्पन्न गरी दोस्रो चरणको खोप लगाउने व्यवस्था मिलाइसकेको जनाएको छ । उडान पहिले वायुयानको क्याबिन, र्‍याम्प बस, लगेज तथा सामान निसङ्क्रमण गर्ने र यात्रुलाई सिट नम्बरको आधारमा विमानभित्र चढाउने तथा ओराल्ने व्यवस्था मिलाइएको छ । विमानभित्र उपलब्ध सेवा भने हाललाई स्थगित गरिएको प्रवक्ता बर्तौैलाले बताए । यती एअरलाइन्सले कोभिड–१९ संकास्पद र सङ्क्रमित व्यक्तिलाई यात्रामा प्रतिबन्ध लगाउनुका साथै बृद्ध, दिर्घरोगी, गर्भवती महिलालाई सकेसम्म जहाजमार्फत यात्रा नगर्न अनुरोध गरेको छ ।