NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

हामी सैन्य पावर होइनौं : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल अन्तरदेशीय शक्ति प्रर्दशन गर्ने उद्देश्यमा नरहेको बताएका छन् । उनले नेपाल सैन्य पावर नरहेको र हुन पनि नचाहेको र आर्थिक शक्तिमा नेपाल त्यो तहमा नपुगेको स्पष्ट पारेका छन् । २१ मंसिर २०७७ मा सार्वजनिक नेपालको नयाँ परराष्ट्र नीतिबारे आइतबार(आज) प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको छलफलमा मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । नेपालको विशिष्ट प्राकृतिक सौन्दर्य, मौलिक एवम् सभ्यता, संस्कृति, जीवन पद्धति, चिन्तनधारा, कला भाषा साहित्य र खेलकुदको माध्यमबाट नेपालको सफ्ट पावरलाई प्रवर्द्धन गर्ने उद्देश्य रहेको पनि ज्ञवालीले बताएका छन् । उनले सफ्टपावर नै नेपालको उपयुक्त परराष्ट्र नीति हुने बताउँदै हार्ड पावर विकास गर्न नसकिने धारणा राखे । ‘हामी हार्ड पावर त विकास गर्न सक्दैनौं । हामी सैन्य पावर होइनौं, हुन पनि चाहन्नौं । आर्थिक शक्तिमा हामी त्यो तहमा पुगेका छैनौं,’ बैठकमा मन्त्री ज्ञवालीले स्पष्ट पारे । सफ्टपावरबाट सबै मुलुकसँग सार्वभौम समानता, पारस्परिक लाभ र सम्मानका आधारमा सम्बन्ध विस्तार, अन्तर्राष्ट्रिय र क्षेत्रीय मञ्चमा नेपालको पहिचान र प्रतिनिधित्व अभिवृद्धि, विश्व शान्ति स्थापना, निशस्त्रीकरण लगायतका विषयमा प्रभावकारी भूमिका खेल्ने मन्त्री ज्ञवालीले बताए । त्यस्तै आर्थिक कुटनीतिकको सञ्चालनबाट नेपालको सामाजिक आर्थिक उत्थानमा योगदान पुर्‍याउने नेपालको नीति रहेको पनि उनले उल्लेख गरे ।