NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

नवदुर्गा भगवतीको पूजा-आराधना गरी चैते दसैं मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैं पर्व आज हिन्दु धर्मावलम्बीहरुले घर-घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै छन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दसैंलाई बडादसैं भनिन्छ । बडादसैंमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ । चैते दसैंमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोकाको दसैंघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दसैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दसैं र नवमीलाई त्रेतायुगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ । चैते दसैं पर्वका अवसरमा बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्छ । विगत वर्ष जस्तै यस वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले ५ जनाभन्दा बढी उपस्थित नहुन आदेश जारी गरेकाले दूरी कायम गरेर दर्शनको व्यवस्था गरिने जनाइएको छ । मन्दिर जान नसक्नेले घरबाटै मानसिक रुपमा दर्शन गर्न सकिने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए । ‘वेदमा ‘सर्वतः आत्मानम्ं गोपायेत्’ अर्थात् सबैभन्दा पहिले आफ्नो शरीरको रक्षा गर भन्ने वचन रहेकाले महामारीको सङ्क्रमणबाट बच्न घरमै पूजा आराधनाका काम गर्न सकिन्छ,’ उनले भने । बडादसैं जस्तै चैते दसैंको पूजा उपासनाका मुख्य उद्देश्य पनि यो लोकमा सुख शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वाद लिनका लागि हो । बडादसैंमा जस्तै चैते दसैंमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ । उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दसैंका अवसरमा विशेष पूजा हुन्छ । यसैगरी, उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ । चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास छ । हनुमानढोकामा बलिसहित पूजाप्राचीनकालदेखि नै हनुमानढोका दरबारको दसैंघरमा चैते दसैंका दिन पनि बलिसहित पूजा गरिँदै आइएको छ । पूजासँगै चैत्र शुक्ल अष्टमीका दिन राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने कामनाले बलि दिइन्छ । यस वर्ष पनि मङ्गलबार बिहान पूजा आराधना गरी ५४ बोका र ५४ राँगाको बलि दिने तयारी भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । बडा दसैंमा भने १०८ बोका र १०८ राँगाको बलि दिई पूजा हुन्छ । गत वर्ष चैते दसैंमा भने कोरोना भाइरसको सन्त्रासका कारण पशु चौपाया ढुवानीमा रोक लगाइएका कारण बलि नदिई पूजा मात्र गरिएको थियो । चैत्र शुक्ल प्रतिपदादेखि नै दसैं घरमा विशेष पूजा र दुर्गा सप्तशती (चण्डी) पाठ पनि भइरहेको छ । २०६३ सम्म नारायणहिटी राजदरबारअन्तर्गत रहेको दसैंघर त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमातहत छ । (रासस)