NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

अमेरिकाद्वारा आफ्ना नागरिकलाई भारत यात्रा नगर्न निर्देशन

एजेन्सी । भारतमा कोरोना संक्रमण बढिरहेको भन्दै अमेरिकाले आफ्ना नागरिकलाई त्यहाँ यात्रा नगर्न भनेको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले यात्रा निर्देशिका (ट्राभल एडभाइजरी) जारी गर्दै भारत नजान निर्देशन दिएको हो । ‘अमेरिकी नागरिकले हाल भारतमा कुनै पनि किसिमको यात्रा गर्नु उपयुक्त छैन । भारतमा स‌क्रमणको अवस्था विश्लेषण गर्दा खोपको पूरा मात्रा लगाएका व्यक्तिलाई पनि त्यहाँ फेलिरहेको भाइरसको नयाँ भेरिएन्टबाट खतरा छ, जसका कारण संक्रमण फैलन सक्छ । यसकारण पनि भारत यात्रा नगर्नुहोस्,’ एडभाइजरीमा भनिएको छ, ‘यदि जानु जरुरी छ भने पहिला खोपको पूरा मात्रा लगाउनुहोस् । यात्रामा मास्क लगाइराख्ने, भीडभाड हुने क्षेत्रमा नजाने, ६ फिट सामाजिक दूरी कायम राख्ने र हात धोइराख्ने गर्नुपर्छ ।’ यसअघि सोमबार नै बेलायतले आफ्ना सबै नागरिकलाई भारत आउन रोक लगाइसकेको छ । नयाँ नियमका अनुसार अब बेलायती र आइरिस नागरिक मात्र भारतबाट ब्रिटेन भित्रिन सक्छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बढ्दो कोरोना संक्रमणलाई मध्येनजर गर्दै आफ्नो भारत भ्रमणसमेत रद्द गरेका छन् । दोस्रो लहर सुरु भएयताकै उच्च मृत्युपछिल्लो २४ घन्टामा भारतमा २ लाख ५९ हजार १ सय ७० जना संक्रमित थपिएका छन् । यो सोमबारको तथ्यांकभन्दा कम हो । सोमबार २ लाख ७३ हजार ८ सय १० जनामा संक्रमण पुष्टि भएको थियो । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाकै कारण १ हजार ७ सय ६१ जनाको मृत्यु भएको छ । यो संख्या कोरोनाको दोस्रो लहर सुरु भएयताकै उच्च हो । योसँगै भारतमा कुल संक्रमितको संख्या १ करोड ५३ लाख २१ हजार ८९ पुगेको छ भने मृतकको संख्या १ लाख ८० हजार ५ सय ३० पुगेको छ । अहिले २० लाख ३१ हजार ९७७ जना सक्रिय संक्रमित छन् । खोप उत्पादन कम्पनीसँग छलफल गर्दै मोदीआज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको खोप उत्पादन कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै छन् । भारतमा खोपको अभाव चुलिएको टिप्पणी भइरहेका बेला हुन लागेको छलफललाई विशेष रुपमा हेरिएको छ । समाचार संस्था पीटीआईका अनुसार छलफल भिडियो कन्फ्रेन्सिङको माध्यमबाट हुनेछ । छलफलमा भारतमा आपत्‌कालीन प्रयोगका लागि अनुमति दिइएका भारतीय तथा विदेशी खोप उत्पादन कम्पनीका प्रतिनिधि सामेल हुनेछन् । छलफलमा कम्पनीहरुको हालको उत्पादनको अवस्था र बढाउन सकिने क्षमता, उत्पादन र ढुवानीमा चुनौतीलगायत विषयमा छलफल हुने बताइएको छ । भारतमा अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको ‘कोभिसिल्ड’ र भारत बायोटेकले विकास गरेको ‘कोभ्याक्सिन’ खोपको उत्पादन भइरहेको छ । यसबाहेक रुसले विकासले गरेको स्पुतनिक-भी खोपलाई पनि आपत्‌कालीन प्रयोगको अनुमति दिइएको छ । मे १ बाट १८ वर्षभन्दा माथिका सबैलाई खोपभारतमा आगामी मे १ बाट १८ वर्षभन्दा माथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । सोमबार प्रधानमन्त्री मोदीसहितको एक बैठकले यस्तो निर्णय गरेको हो । बैठकले खोप अभियानलाई हालको भन्दा बढी उदार र तिव्रता दिने रणनीतिलाई स्विकृति दिएको छ । यो सँगै अब खोपलाई खुला बजारमा समेत बिक्री गर्न सकिने बाटो खुला भएको छ । खोप उत्पादन कम्पनीले हरेक महिना उत्पादन हुने खोपको आधा परीमाण केन्द्र सरकारलाई दिनुपर्ने समेत निर्णय गरिएको छ । बाँकी आधा परीमाण अन्य राज्य र खुला बजारमा बिक्री गर्न सकिनेछ । यसका लागि उत्पादन कम्पनीले खोपको खरिद मूल्य बिक्री पहिले नै दिनुपर्नेछ । केन्द्र सरकारले आफ्नो हिस्साको खोप प्राथमिकताका आधारमा अन्य राज्य र केन्द्र शासित प्रदेशमा दिनेछ । भारतमा हालसम्म १२ करोड ७१ लाखभन्दा बढीले खोप लगाइसकेका छन् । यसैबीच, राजधानी दिल्लीमा आजबाट लकडाउन सुरु भएको छ । लकडाउन सोमबारसम्म रहनेछ । यसअघि ‘विकेन्ड कर्फ्यु’ लगाइएपनि त्यसको प्रभाव नदेखिएको भन्दै पुनः ६ दिनका लागि कर्फ्यु लगाएको हो । कर्फ्युका कारण दिल्लीका सडक सुनसान बनेका छन् । अत्यावश्यक कामका लागि भने बाहिर निस्कन दिइएको छ, यसका लागि दिल्ली सरकारले ई-पासको व्यवस्था गरेको छ ।