NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

नेदरल्यान्डस्‌विरुद्ध नेपालको २०७ रनको विशाल लक्ष्य

काठमाडौं । त्रिदेशीय टी-२० क्रिकेट सिरिजअन्तर्गतको चौथो खेलमा नेपालले नेदरल्यान्डस्‌लाई २०७ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले पूरा २० ओभर खेल्दै ६ विकेटको क्षतिमा २०५ रन बनाएको हो । यो अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा नेपालले बनाएको दोस्रो सर्वाधिक स्कोर हो । यसअघि नेपालले सन् २०१९ मा भुटानविरुद्ध २३६ रनको स्कोर खडा गरेको थियो । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कुशल भुर्तेलले सर्वाधिक ६२ रनको योगदान दिए । ४६ बलको सामना गरेका उनले ८ चौका र १ छक्का हिर्काए । यो उनको लगातार तेस्रो अर्धशतक पनि हो । योसँगै अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा नेपालको तर्फबाट लगातार तीन अर्धशतक प्रहार गर्ने उनी पहिलो ब्याट्सम्यान बनेका छन् । यसअघि भुर्तेलले नेदरल्यान्डस्‌विरुद्धको खेलमा पनि ६२ रन बनाएका थिए । यो उनको अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा डेब्यु खेलसमेत थियो । प्रतियोगिताको दोस्रो खेलमा उनले मलेसियाविरुद्ध अविजीत रहँदै ६१ रन प्रहार गरेका थिए । भुर्तेलको नाममा करियरकै सुरुवाती ३ खेलमा लगातार ३ अर्धशतक प्रहार गर्ने कीर्तिमान समेत गएको छ । यसअघि नेपालका कुनै पनि ब्याट्सम्यानले यस्तो आँकडा खडा गर्न सकेका थिएनन् । ६२ रनको पारी खेलेका कुशल भुर्तेल । प्रारम्भिक ब्याट्सम्यान रहेका भुर्तेललाई चौथो नम्बरमा मैदान भित्रिएका दिपेन्द्र सिंह ऐरीले बलियो साथ दिएका थिए । ऐरीले ६० रनको पारी खेले । ३० बलको मात्रै सामना गरेका उनले ५ छक्का र ३ चौका हिर्काए । यसअघि २० रनको अवस्थामा नेपालले आसिफ सेखलाई गुमाएको थियो । उनले स्कोर गर्न सकेनन् । त्यसपछि मैदान भित्रिएका कप्तान ज्ञानेन्द्र मल्लले २० रनको पारी खेले । कुशल मल्लले १८, करण केसीले १ रन मात्रै जोड्न सके । अन्तिमसम्म मैदानमै रहेका सोमपाल कामीले २१ र विनोद भण्डारीले ७ रन बनाए । नेदरल्यान्डस्‌का भिभियान किंग्मा र पिटर सिलारले समान २/२ विकेट लिए । बास डि लिड र आर्यन दत्तको नाममा १/१ विकेट रह्यो । प्रतियोगिताअन्तर्गत नेपालले यसअघिका दुवै खेल जितिसकेको छ । पहिलो खेलमा नेदरल्यान्डस् र दोस्रोमा मलेसिया समान ९/९ विकेटले पराजित भएका थिए । नेपाल अंकतालिकाको पहिलो स्थानमा छ । आजको खेलमा जित हात पारे नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ ।