NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

आत्महत्याको हटस्पट बन्दै सुर्खेत : तीन वर्षमा चार सय चार जनाले गरे आत्महत्या

सुर्खेत । सोमबार बिहान सुर्खेतको पञ्चपुरी नगरपालिका–६ का दुई जना किशोरीले एउटै रुखमा पासो लगाएर आत्महत्या गरे । १४ वर्षीया दुई किशोरी एउटै रुखमा झुण्डिएको देखेपछि गाउँमा खैलाबैला मच्चिएको छ । प्रहरीले यो घटनाको अनुसन्धान गरिरहेको छ । उनीहरूले किन आत्महत्या गरे भन्ने अहिलेसम्म खुलेको छैन । गत चैतमा दैलेखको आठबीस नगरपालिकाकी सुकी बडुवालले आफ्ना चार सन्तानसहित कर्णालीमा आम फालिन् । घरेलु हिंसाका कारण बालबच्चासहित सुकी कर्णालीमा हेलिएको निश्कर्ष प्रहरीले निकालेको छ । केही दिनअघि सुर्खेतकै छिन्चुमा एक युवकले झुण्डिएर आत्महत्या गरे । बहिनीसँगै डेरामा बसेर पढ्दै आएका उनी एसईईमा फेल भएका थिए । फेल भएपछि डिप्रेशनमा गएर आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले तत्कालीन कारण हेरेर आत्महत्याका घटनाको निचोड निकाल्ने गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझी बताउँछन् । तर, बाँच्नका लागि अन्तिमसम्म प्रयत्नशिल हुने मानिस कसरी आत्महत्याको निचोडसम्म पुग्नसक्छ भन्ने कारण खोज्न भने प्रहरी अहिलेसम्म सफल देखिँदैन । कतिपय हदमा सामान्य कारणले पनि मानिसहरू आत्महत्यासम्मको बाटो रोज्ने गरेको पाइएको रायमाझी बताउँछन् । ‘ठ्याक्कै कारण यही हो त भन्न सकिँदैन । कहीं ठूलै कारण भेटिन्छन् त कतै पत्याउनै मुस्किल पर्ने कारण समेत भेटिन्छन्,’ रायमाझी भन्छन्, ‘आत्महत्यालाई अब छुट्टै तरिकाले अनुसन्धान गर्न आवश्यक छ,’ रायमाझीले बताए । आत्महत्याको हटस्पट बन्दै सुर्खेत नेपालमा पछिल्ला केही वर्षयता आत्महत्याको प्रवृत्ति बढ्दै गएको देखिन्छ । प्रहरीमा दर्ता भएको संख्या हेर्दा आर्थिक वर्ष २०७४/०७५ मा नेपालमा पाँच हजार तीन सय १७, २०७५/०७६ मा पाँच हजार सात सय ५४ र २०७६÷०७७ मा ६ हजार दुई सय ४१ जनाले आत्महत्या गरेका छन् । तीन वर्षको अवधिमा सुर्खेत र दैलेखमा मात्रै पाँच सय ६६ जनाले आत्महत्या गरेका छन् । यसमध्ये चार सय चार जना सुर्खेतका छन् भने बाँकी एक सय ६२ दैलेखका रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुप श्रेष्ठले जानकारी दिए । आत्महत्याबाट ज्यान गुमाउनेको यो संख्या प्राकृत्तिक विपत्ति र अन्य अपराधिक घटनाबाट मृत्यु हुनेको भन्दा पनि बढी हो । तथ्यांक हेर्दा सुर्खेत अहिले आत्महत्या गर्नेहरूको ‘हटस्पट’ नै बनेको छ । सुर्खेतभित्र पनि प्रदेश राजधानीसमेत रहेको जिल्ला सदरमुकाम विरेन्द्रनगर आत्महत्या गर्नेहरूको गढ क्षेत्र पर्छ । जहाँ चार वर्षको अवधिमा एकसय २२ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरूमा महिला र बालबालिका बढी छन् । घटना हुने समयको अवस्था अध्ययन गर्दा पारिवारिक समस्या, असफलता, नैराश्यता, मानसिक रोग, दीर्घरोग तथा सामाजिक सञ्जालको गलत प्रयोगका कारण आत्महत्यासम्मको बाटोमा जाने गरेको निचोड प्रहरीले निकालेको रायमाझी बताउँछन् । आत्महत्याको प्रवृत्तिप्रति गम्भीर भएर सोच्न सबै सरोकारवालाहरूलाई प्रहरीले आग्रह गरेको छ । अन्य अपराधिक घटना न्यूनीकरणमा अभियान चलाएजस्तै आत्महत्या रोक्न पनि सामाजिक चेतनाको अभियान आवश्यक रहेको सुर्खेतका प्रहरी निरीक्षक रायमाझी बताउँछन् । प्रहरीले बढ्दो आत्महत्याको दरलाई मध्यनजर गर्दै न्यूनीकरणका लागि पारिवारीक दायित्व, जागरण कार्यक्रम, आकस्मिक उपचार जस्ता अभियान चलाउन स्थानीय सरोकारवालाई सुझाव दिएको छ ।