NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

अब बागलुङमै कोरोना परीक्षण

काठमाडौं । मन्त्रीस्तरीय निर्णय भएको दश महिनापछि धौलागिरि अस्पतालमा पिसिआर मेशिन जडान भएको छ । गतवर्ष असार १२ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धौलागिरिसहित विभिन्न जिल्लाका १० अस्पतालमा पिसिआर मेशिन राख्ने निर्णय गरेको थियो । ढिलै भए पनि धौलागिरिवासीले पायक पर्ने ठाउँबाट कोरोना जाँचको सुविधा पाउने भएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र विक पोखरेलले पिसिआर प्रयोगशाला तयारी अवस्थामा रहेको बताए । ‘मेशिन जडान भएर आजैदेखि नमूना परीक्षण सुरु गर्दैछौं,’ उनले भने, ‘केही दिनभित्रैमा नियमित परीक्षण थाल्छौं ।’ नमुना परीक्षणको रिपोर्ट र सम्बन्धित विशेषज्ञबाट मेशिनको प्राविधिक जाँचपछि औपचारिकरुपमा पिसिआर प्रयोगशाला सञ्चालनमा ल्याउने अस्पतालको तयारी छ । उक्त प्रयोगशाला सञ्चालनमा आउँदा बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाले प्रत्यक्ष लाभ उठाउने छ । हाल धौलागिरि क्षेत्रका चारै जिल्ला कोरोना जाँचका लागि प्रदेश राजधानी पोखरामाथि निर्भर रहनुपर्ने बाध्यता छ । प्रदेशभरिबाट संकलन हुने स्वाबको चापका कारण बेलैमा रिपोर्ट आउन नसक्ने स्थिति छ । गत वर्ष कोरोना महामारी सुरु हुँदाको चरणमा स्वाबको रिपोर्टका लागि हप्तौंसम्म कुनुपर्ने हुन्थ्यो । गण्डकी प्रदेशमै पहिलोपटक ०७६ चैतमा बागलुङकी १९ वर्षीया किशोरीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै धौलागिरि अस्पतालमै पिसिआर मेशिन राख्नुपर्ने आवाज उठेको थियो । ‘ढिलै भए पनि पिसिआर जाँच सेवा सुरु हुँदैछ, यो हामी सबैका लागि सुखद् कुरा हो’, मेसु पोखरेलले भने, ‘सङ्क्रमितको पहिचान, उपचारसँगै कोरोना रोकथाम तथा नियन्त्रणमा यो महत्वपूर्ण उपलब्धि हो ।’ पिसिआर प्रयोगशालामा चाहिने उपकरण खरिदका लागि कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमार्फत सरकारले एक करोड रुपैयाँ बजेट उपलब्ध गराएको थियो । यस्तै जनशक्ति व्यवस्थापनमा गण्डकी प्रदेश सरकारबाट ४० लाख रुपैयाँ प्राप्त भएको अस्पतालले जनाएको छ । दुई जना ल्याब टेक्नोलोजिस्टसहित चार जना प्रयोगशालाकर्मी पिसिआर जाँचमा खटिने जनाइएको छ । निर्णय भएको महिनौं बित्दासमेत पिसिआर प्रयोगशाला सञ्चालनमा नआउँदा अस्पतालप्रति बढेको जनसाधारणको गुनासो पनि अब मत्थर हुने भएको छ । कोरोना महामारीको दोस्रो लहरको जोखिम बढिरहेका बेला अब भने जिल्लामै पिसिआर जाँच सेवाको सुनिश्चितता भएको छ । अस्पतालका अनुसार गत फागुनसम्म कोरोना सङ्क्रमितको सङ्ख्या कम देखिए पनि चैत लागेपछि सङ्क्रमित फेरि बढ्न थालेका छन् । अस्पतालको आइसोलेसनमा फागुनमा जम्मा दुई जना सङ्क्रमित रहेकामा गत चैत महिनामा उक्त सङ्ख्या बढेर आठ पुगेको थियो । वैशाख लागेपछि सङ्क्रमितको सङ्ख्या झन बढेको मेसु पोखरेलको भनाइ छ । अहिले एक जना सङ्क्रमितको अस्पतालको आइसियुमा उपचार भइरहेको छ । ‘लक्षणसहितका सङ्क्रमित बढिरहेका छन्, बालबालिका पनि उच्च जोखिममा रहेकाले विशेष ख्याल गर्नुपर्ने देखिएको छ,’ उनले भने ।