NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

भेरी अस्पतालमा जनशक्ति अपुग हुँदा संक्रमित भएर पनि सेवामा खटिँदै १० नर्स

राँझा । कोरोना सङ्क्रमितको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत ७३ स्वास्थ्यकर्मी र कर्मचारी सङ्क्रमित भएका छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाका अनुसार गत वैशाख १ यता ७३ स्वास्थ्यकर्मी र कर्मचारीमा सङ्क्रमण पुष्टि भएको हो । जसमा नर्सिङ स्टाफ ३३, चिकित्सक ८, प्यारामेडिक्स ८, सहायक कर्मचारी २२ र प्रशासनसँग आबद्ध २ जना छन् । तर सङ्क्रमित स्वास्थ्यकर्मीहरु घरमै वा आइसोलेसनमा आराम गरिरहेका भने छैनन् । उनीहरु आफूजस्तै सङ्क्रमितको उपचारमा खटिएका छन् । आफ्नो ज्यानको बाजी लगाएर पनि बिरामीको सेवामा अहोरात्र खटिएका सबै कर्मचारीप्रति अस्पतालले आभार प्रकट गरेको छ । भेरी अस्पतालमा जनशक्तिको कमी हुँदा सङ्क्रमित स्वास्थ्यकर्मी पनि उपचारमा खटिनुपरेको हो । करिब १० स्टाफ नर्स आफैं सङ्क्रमित भएर पनि अन्य बिरामीको उपचारमा खटिएको अस्पतालका प्रमुख डा. थापाले बताए । अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि १४२ शय्या छुट्याइएकामा सङ्क्रमितको चापसँगै त्यसलाई बढाइएको छ । अहिले भेरीमा २१२ संक्रमित उपचाररत छन् । शय्या बढ्दै जाने, स्वास्थ्यकर्मी नबढ्ने र भएका पनि सङ्क्रमित भएपछि समस्या भएको छ । ५ जना स्टाफ नर्सले सय जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता रहेको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए । उनका अनुसार दुई दिनअघि भेरीले जनशक्ति करारमा नियुक्ति गर्ने अधिकार पाएको छ । अस्पतालले ६० कर्मचारी आह्वान गरेको छ । एनेस्थेसियोलोजिस्ट ३, मेडिकल अधिकृत १०, नर्सिङ अधिकृत २, ल्याब टेक्निसियन ५ र स्टाफ नर्स ४० जना करारमा माग गरिएको हो । मृतक सङ्ख्या सय नाघ्योकोरोना सङ्क्रमित भई बाँकेका अस्पतालमा भर्ना भएका थप ६ जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृतक नेपालगञ्ज, कोहलपुर र बर्दिया बढैयाताल गाउँपालिका निवासी छन् । योसँगै हालसम्म जिल्लामा मृत्यु हुने संक्रमितको संख्या सय नाघेको छ । गएराति ९ बजेदेखि बिहान ५ः३० बजेसम्म भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा गरी ६ सङ्क्रमितको मृत्यु भएको कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार गत वैशाख १२ मा पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएपछि वैशाख १५ मा शिक्षण अस्पतालमा भर्ना भएकी नेपालगञ्ज उपमहानगरपालिका-१३ की ५८ वर्षीया महिलाको गए राति ९ बजे मृत्यु भएको हो । यसैगरी, भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज–४ निवासी ६० वर्षीय पुरुष र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कोहलपुर नगरपालिका–११ निवासी ४३ वर्षीया महिलाको पनि गएराति नै मृत्यु भएको थियो । भेरीमै नेपालगञ्ज–९ निवासी ४२ वर्षीय पुरुषको गएराति १० बजे र बढैयाताल गाउँपालिका–८ निवासी ३२ वर्षीय पुरुषको आज बिहान १ः३० बजे मृत्यु भएको वलीले जानकारी दिए । पछिल्लो पटक शिक्षण अस्पतालमा नेपालगञ्ज–५ निवासी ५५ वर्षीय पुरुषको बिहान ५ः३० बजे मृत्यु भएको उनले बताए । बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १०६ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा उपचारकै क्रममा हालसम्म १०९ जनाको मृत्यु भएको छ । (रासस)