NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

आफ्ना नागरिकलाई जतिसक्दो छिटो भारत छाड्न अमेरिकाको आग्रह

काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई जतिसक्दो छिटो भारत छाड्न आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएपछि आफ्ना नागरिकलाई अमेरिकाले यस्तो आग्रह गरेको हो । स्वास्थ्य सेवाको अत्यन्त अभाव हुन थालेकाले बुधबार अमेरिकाले चौथो तहको ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकहरुलाई सकेसम्म चाँडो भारत छाड्न आग्रह गरेको हो । चौथो तहको ट्राभल एडभाइजरीलाई निकै गम्भीर प्रकृतिको मानिन्छ । भारतमा विगत केही केही साता यता कोरोना संक्रमण तीव्र हिसाबले बढी रहेको छ । पछिल्लो चौबीस घन्टामा मात्र ३ लाख ७९ हजार २ सय ५७ नयाँ संक्रमित थपिएका छन् भने ३ हजार ६ सय ४५ जनाको मृत्यु भएको छ । महामारीका कारण अस्पतालहरुमा बेड, अक्सिजनको चरम अभाव देखिएको छ । विदेश मन्त्रालयले भारतका केही सहरहरुमा अमेरिकी नागरिकहरुले समेत अस्पतालमा भर्ना नपाएको जनाएको छ । त्यसैगरी अमेरिकी विदेश मन्त्रालयले ट्वीट गर्दै बढ्दो कोरोना संक्रमणका कारण स्वास्थ्य सेवाको पहुँच अत्यन्त सीमित बन्दै गएको हुँँदा भारत छाड्न चाहने अमेरिकी नागरिकहरुले हाल उपलब्ध विभिन्न विकल्पहरु प्रयोग गर्न पनि सुझाएको छ । एजेन्सी