NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

सेनालाई फास्ट ट्र्याकको दोस्रो प्याकेजको ठेक्का रोक्न लेखा समितिको पत्र

काठमाडौं । नेपाली सेनालाई फास्ट ट्र्याकको दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रोक्न संसद्को सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । यसअघि पनि रक्षा मन्त्रालयलाई तीन पटक समितिले पत्र पठाउँदै दोस्रो प्याकेजको ठेक्कामा अनियमितता भएको भन्दै प्रक्रिया रोक्न निर्देशन दिएको थियो । तर, मन्त्रालयलाई पठाएको पत्रले काम नगरेपछि यसपटक समितिले नेपाली सेनालाई नै पत्र पठाएर ठेक्का रोक्न निर्देशन दिएको छ । लेखा समितिका सचिव रोजथान पाण्डेद्वारा हस्ताक्षरित पत्रमा यसअघि पनि उक्त ठेक्कामा खरिद प्रक्रिया रोक्न निर्देशन दिएकोमा कुनै प्रतिक्रिया नआएर काम जारी राख्नु संसदीय समितिको निर्णय विपरीत भएको बताइएको छ । साथै तत्काल खरिद प्रक्रिया रद्द गरी हालसम्म ठेक्का प्रक्रियामा भए गरेका सम्पूर्ण कामकाजसहितको कागजपत्र पेश गर्न समितिले सेनालाई निर्देशन दिएको छ । चैत १९ गतेपछि लेखा समितिले वैशाख ६ गते र बैशाख ९ गते रक्षा मन्त्रालयलाई पत्र लेखेर फास्ट ट्र्याकको सुरुङ र पुल निर्माणसम्बन्धी दोस्रो प्याकेजको खरिद प्रक्रिया रोक्न भनेको थियो । समितिको निर्देशनको बेवास्ता गर्दै वैशाख १२ गते टेण्डर आह्वान गरिएको छ । संसदीय समितिको निर्देशन विपरीत टेण्डर प्रक्रिया अगाडि बढाइएकाले सीधै नेपाली सेनालाई पत्र लेखिएको हो ।