NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

आजदेखि निषेधाज्ञा थप कडाइ गर्ने सिडियो कार्यालयको सूचना

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि निषेधाज्ञामा कडाई गर्ने भएको छ । पहिलो दिन भीडभाड भएपछि प्रशासनले निषेधाज्ञा कार्यान्वयनमा थप कडा कदम चाल्ने बताएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै आजदेखि अत्यावश्यक र मृत्यु संस्कारबाहेक अन्यलाई सवारी पास नदिने बताएको छ । अत्यावश्यक भन्दै अनावश्यक पास माग्न थालेपछि प्रशासनले अब मृत्यु संस्कारका लागि घर जानेलाई र अत्यावश्यक काममा जानेलाई बाहेक अरुलाई सवारी पास जारी नगरिने जानकारी दिएकाे छ । यस्तै, बिरामी कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक तथा वित्तिय संस्था, बिमालगायत नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त कारोबार गर्ने संस्था र विमानस्थल आउजाउ गर्ने संस्था तथा कर्मचारीहरुका हकमा लागि सवारी पास नचाहिने सूचनामा उल्लेख गरिएको छ । सूचनमा यी उल्लेखित सवारीमा कुनै रोकटोक भए सहजीकरणका लागि नेपाल प्रहरीको नम्बर १०० र १०३ मा फोन गर्नसमेत अनुरोध गरेको छ ।