NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

आजका ‘गुड न्युज’ : कोरोना रोकथाममा कर्णाली सरकारको एक अर्ब

काठमाडौं । बिहीबार दिनभर सम्प्रेषण भएका खबरमध्ये अधिकांश राजनीतिक र कोरोना महामारीसँग सम्बन्धित थिए । त्यस्ता खबरले पाठकको मनमा नकारात्मक भाव पैदा हुनु स्वाभाविकै हो । तर, यस भीडमा केही त्यस्ता खबर पनि थिए, जसले सकारात्मक भाव पैदा गर्थे । केही त्यस्तै सकारात्मक समाचारको सूची यहाँ प्रस्तुत गरिएको छ । (१) कोरोना रोकथाममा कर्णाली सरकारको एक अर्ब कर्णाली प्रदेश सरकारले कोरोना नियन्त्रण, रोकथाम र उपचार तथा प्रतिकार्यका लागि एक अर्ब रुपैयाँ बजेट छुट्याएको समाचारले पाठकबाट सकारात्मक प्रतिक्रिया पाएको देखियो । उक्त रकममध्ये ५० करोड रुपैयाँ विकास खर्चबाट रकमान्तर गरी कोभिड कोषमा राख्ने व्यवस्था मिलाइएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले जानकारी दिइन् । यस्तै, कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि तत्काल प्रदेश अस्पताल सुर्खेतलाई २२ करोड रुपैयाँ बजेट दिने निर्णय पनि सरकारले गरेको छ । अनि चौरजहारी सामुदायिक अस्पताल, जिल्ला अस्पतालहरू र रणनीतिक अस्पताललाई १२ करोड रुपैयाँ निकासा गरिएको छ । (२) माथिल्लो तामाकोशीको सुरुङमा पानी खसालियो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरुङमा पानी खसाल्न थालिएको छ । पानी सुरुङमा खसालिएसँगै साता–१० दिनमा सुरुङ भरिनेछ । सुरुङ भरिएपछि ‘वैशाखभित्रै एक युनिटबाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ । एक युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन हुनेछ । पहिलो युनिटबाट बिजुली निकालेको १५–२० दिनमै अर्को युनिटबाट बिजुली उत्पादन सुरू हुने आयोजनाले जनाएको छ । अर्थात्, जेठभित्रै माथिल्लो तामाकोशीबाट डेढ सय मेगावाट बिजुली उत्पादन हुनेछ । (३) वायुसेवा सञ्चालकहरूको अनुगमन समिति काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको व्यवस्थापन सहज बनाउन वायुसेवा सञ्चालकहरूले अनुगमन समिति बनाएका छन् । वायुसेवा सञ्चालक संघ (आयोन)का कार्यकारी निर्देशकको संयोजकत्वमा बुद्ध एयर, यती एयरलाइन्स, समिट एयर, श्री एयरलाइन्स र सौर्य एयरलाइन्सको प्रतिनिधित्वमा समिति बनेको हो । समितिमार्फत यात्रु व्यवस्थापनमा हुने कमजोरीलाई थप सुधार गर्दै लैजाने प्रतिबद्धता सञ्चालकहरूको छ । (४) निषेधाज्ञामा पनि सबै बैंकका शाखा खुला उपत्यकाका तीन जिल्लामा बिहीबारदेखि निषेधाज्ञा लागू भए पनि बैंक तथा वित्तीय संस्थाहरू खुला रहे । नेपाल बैंकर्स संघले निषेधाज्ञाको समयमा बैंकका सबै शाखा खुला राख्ने निर्णय गरेको हो । तथापि, ग्राहकहरूलाई भने अत्यावश्यक कामबाहेक शाखाहरूमा नआउन संघले आग्रह गरेको छ । र, इन्टरनेट र मोबाइल बैंकिङलगायत सुविधा लिइरहेका ग्राहकले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राविधिक समस्या भएमा सम्बन्धित शाखामा फोन सम्पर्क गर्न आग्रह गरेको छ । (५) संक्रमितको उपचारमा जनकपुरमा धमाधम शय्या प्रदेश–२ सरकारमातहतको प्रादेशिक अस्पताल जनकपुरधाममा कोरोना संक्रमितको उपचारका लागि धमाधम शय्या तयार पारिँदैछ । तीमध्ये १० वटा ‘हाई डिपेन्डेन्सी युनिट’ (एचडीयू) बेड तयार भइसकेका छन् । र, १२ वटा आईसीयू बेड पनि तयार भएका छन् । तीनवटा आईसीयू बेडमा यतिबेला कोराना संक्रमित छन् । तीमध्ये दुईजनाको अवस्था सामान्य छ भने एकजना अक्सिजनको सहारामा उपचाररत छन् ।